| आइतवार, कार्तिक २२, २०८३

शहीदलखनको ठेक्का सेटिङ, प्रतिष्पर्धा रोक्न फर्म खरिद गर्नेलाई २५ हजारदेखि एकलाखसम्म दिएको खुलासा

शहीद लखन गाउँपालिकामा ठेक्का फाराम दर्ता गर्न आउनेलाई २५ हजार रुपैयाँ दिई फकाएर फर्काइएको रहस्य खुलेको छ । पुस ९ गते आह्वान भएको ठेक्काका लागि गाउँपालिका र निर्माण व्यवसायीको मिलेमतोमा प्रतिष्पर्धीलाई २५ हजार रुपैयाँको प्रलोभनमा पारी फर्काइएको फर्किएका व्यवसायीहरुले बताएका छन् ।


२० लाख देखि ४३ लाखसम्मका चारवटा प्याकेजमा फर्म खरिद गर्नेहरुलाई ठेक्का पार्ने ठेकेदारले जनही २५ हजारका दरले रकम बितरण गरेको नाम नखुलाउन अनुरोध गर्दै ठेक्का पार्ने ठेकेदारहरुले स्वीकारेका छन् ।


‘फर्म खरिद गर्नेलाई २५/२५ हजारको दरले दिएका हौँ’ ठेक्का पार्नेमध्यका एक ब्यवशायीले भने, ‘प्रतिष्पर्धा गर्न अल्लि बढि नै बार्गेनिङ गर्ने तीन, चार जनाले एक/एक लाखसम्म लिए ।’
रकम लिनेजतिले टेण्डर फर्म दाखिला गरेनन् । अन्ततः चारवटा ठुला प्याकेजमा एक/एक वटा फर्मले मात्रै दाखिला गरेका छन् । उक्त टेण्डर मिलाउन करिब १५ लाख रुपैयाँ बाँडफाँड भएको ब्यवशायीहरुले स्वीकार गरेका छन् ।


यस अघि १० लाखदेखि माथिका ठेक्का समेत ‘इलेक्टूोनिक बिडिङ सिस्टम’ (इविडिङ) गर्ने गाउँपालिकाले यो पटक बिना ‘ईविडिङ’ ठेक्का मिलाउन सहयोग गरेको हो । २१ लाख ५५ हजारको ठेक्का नम्बर १४ को प्याकेजको १७ वटा टेण्डर फर्म बिक्री भएको छ । २५ लाख ८५ हजारको १५ नम्बर प्याकेजको १७ वटा बिक्री भएको योजना शाखाका नायब सुब्बा सानुकाजी बस्नेतले बताए ।
ठेक्का नम्बर १६ को ४३ लाख रुपैयाँ १० हजारको प्याकेजको १६ र ठेक्का नम्बर १७ को २१ लाख रुपैयाँ ८८ हजार प्याकेजको १५ वटा फर्म बिक्री भएको गाउँपालिकाले जनाएको छ ।

क्रमश गोरखकाली ब्रदर्स कन्ट्रक्सन, बस्चुल निर्माण सेवा, कल्याण निर्माण सेवा एण्ड सप्लायर्स र कृतिका निर्माण सेवाले १४ देखि १७ नम्बरको प्याकेजमा एकलौटी फर्म दाखिला गरेका छन् ।
गाउँपालिकाले २० लाख रुपैयाँ मुनिका पाँच र २० देखि ४३ लाख रुपैयाँसम्मका चारवटा ठेक्का सो गाउँपालिकाले बिना प्रतिस्पर्धा टेण्डर दाखिला गराउन मद्धत गरेको हो । गाउँपालिकाको कार्यालयमै पुगेर टेण्डर फर्म खरिद गर्नुपर्ने र दाखिला गर्न पनि गाउँपालिकामै ब्यवशायी जानुपर्ने प्रवाधानमा टेण्डर खुल्ला गरेर गाउँपालिकाले मिलाउन प्रसय दिएको गुनासो ब्यवशायीकै छ ।
‘यस वर्ष १० लाख रुपैयाँ माथिका योजना टेण्डर गर्ने निणर्य गाउँपालिकाले गरेको थियो’ प्रमुख प्रशासकिय अधिकृत जिबनबहादुर आले मगरले भने ‘यो पटक गरिएन ।’ प्राविधिकले ईभिडिङ नगराएको विषयमा अनविज्ञता प्रकट गरे । बिना ईविडिङ ४३ लाख सम्मको टेण्डर हुँदा र एक/एक वटा फर्म मात्रै दाखिला हुँदा प्राविधिक पनि छक्क छन् । कमिसनको लोभमा कर्मचारीले गाउँ सभाको निणर्य लत्याउँदै टेण्डर मिलाउन खोजेपछि चौतर्फी आलोचना भएको छ ।


बिक्री भएका फर्म मध्ये एक/एक वटा मात्रै दाखिला भएपछि ति फर्मले काम पाउने पक्का देखिन्छ । द फर्म खरिद गरेकालाई एकै ठाउँमा जम्मा गर्ने, आर्थिक लेनदेनमा मिल्ने मिलाउने कामको नेतृत्वमा निर्माण ब्यवशायीले गर्ने गर्छन । ‘टेण्डर प्रतिसप्रर्धामा जाँदा ५० प्रतिशत सम्म कम दररेटमा राख्छन्’ एक ब्यवशायीले भने ‘मिलेमतो भएपछि १० प्रतिशत रकम बितरण गर्ने, पाँच देखि १० प्रतिशत गाउँपालिकालाई पनि हुने भएपछि यो मिलेमतो भएको हो ।’ यती धेरै फर्म बिक्री हुने र एउटा मात्रै दाखिला भएको विषयमा गाउँपालिकाका कर्मचारी अनविज्ञता प्रकट गर्छन् ।

प्रतिक्रिया दिनुहोस्