
हेलिकप्टरबाट उत्तरी गोरखा लगिएको खोप आज देखि स्वास्थ्यकर्मीलाई लगाईने
सडक सञ्जालले नछोएका उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविकालाई लगाउन बिहिवार हेलिकप्टरबाट ढुवानी गरिएको कोरोना बिरुद्धको खोप आजदेखि लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
चिकित्सक, स्वास्थ्यकर्मी सहित खोप चुमनुब्री गाउँपालिकाको तीनवटै खोपकेन्द्रमा पुगिसकेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरजंग ठकुरीले बताए ।
‘ चुमुनब्री गाउँपालिका ६ चुम्लिङमा २० जना, वडा नम्बर २ को लिहीमा ३० र वडा नम्बर ३ सिर्दिबासको फिलिममा १८ जनाका लागि खोप पठाइएको उनले बताए ।
तीनठाउँबाट गाउँपालिका भित्रका सबै स्वास्थ्यकर्मीलाई खोप लगाउन सकिने गरी केन्द्र तोकिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘सदरमुकामसम्म आउँदा जाँदा एक साता लाग्ने, धेरै पैसा खर्च हुने भएपछि स्वास्थ्यकर्मीका लागि हेलिकप्टरबाट खोप पठाएका हौँ’ स्वास्थ्य कार्यालयका खोप अधिकृत ऋषिराम खत्रीले भने ।




