
गोरखा सदरमुकामबाट कोरोना खोप लिएर उत्तरी गोरखा उड्यो हेलिकप्टर
तिब्बत सँग सिमाना जोडिएको र सडक सञ्जालले नछोएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविकालाई लगाउन हेलिकप्टरबाट कोरोना बिरुद्धको खोप ढुवानी गरिएको छ ।
स्वास्थ्य कार्यालय गोरखाले बिहिवार चिकित्सक, स्वास्थ्यकर्मी सहित खोप पठाएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरजंग ठकुरीले बताए ।
‘तीन जना डाक्टर, दुई जना स्वास्थ्यकर्मी सहित तीन ठाउँमा खोप केन्द्रका लागि खोप हेलिकप्टरबाट पठाएका छौँ’ ठकुरीले भने । चुमुनब्री गाउँपालिका ६ चुम्लिङमा २० जना, वडा नम्बर २ को लिहीमा ३० र वडा नम्बर ३ सिर्दीबासको फिलिममा १८ जनाका लागि खोप पठाइएको हो । तीनठाउँबाट गाउँपालिका भित्रका सबै स्वास्थ्यकर्मीलाई खोप लगाउन सकिने गरी केन्द्र तोकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
‘सदरमुकाम सम्म आउँदा जाँदा एक साता लाग्ने, धेरै पैसा खर्च हुने भएपछि स्वास्थ्यकर्मीका लागि हेलिकप्टरबाट खोप पठाएका हौँ’ स्वास्थ्य कार्यालयका खोप अधिकृत ऋषिराम खत्रीले भने । बिहिवार सबै केन्द्रमा खोप पुग्ने र शुक्रवारदेखि लगाउन थालिने उनले बताए ।
यस्तै धार्चे गाउँपालिकाको माछाखोलामा पनि खोप केन्द्र राखिएको छ । त्यहाबाट ४७ जनालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बिहिवार सम्म गोरखामा ११ सय ७७ जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् । दुई हजार १० जनालाई पुग्ने गरी खोप आएको गोरखामा अझै केही स्वास्थ्यकर्मी, सरसफाईकमीले लगाउन बाँकी छ । लक्ष्य अनुसार खोप लगाउनेको संख्या कम भएपछि जिल्ला कोभिड खोप समन्वय समितिको बैठकले उत्तरी गोरखामा हेलिकप्टरबाट खोप ढुवानी गरेर भएपनि स्वास्थ्यकर्मीलाई लगाउने निर्णय गरेको थियो ।






