
ठुला सपना देखाएर बन्दुक बोकाउनेहरु सत्तामा पुगे, केही गरेनन : नेता पाण्डे
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले जनतालाई ठूला–ठूला सपना देखाएर जनयुद्धमा लगाउनेहरु सत्तामा पुगेपछि जनता बिर्सिएको बताएका छन् ।
गृह जिल्लाको आफ्नै वडा पालुङटार १ खोप्लाङमा बुधवार आयोजित बिरोधसभालाई सम्वोधन गर्दै उनले भने ‘बन्दुक बोकेर मान्छे मार्नेहरु सत्तामा आएपछि केही गरेनन, आफैँ झगडा गरिरहे ।’
जनयुद्धमा रगत बगाउनेहरु माथि धोका भएकाले अब पनि नेताहरुको लोभ र आश्वासनमा नफस्न उनले अनुरोध गरे । हरेक क्रान्तिको नेतृत्व नेपाली कांग्रेसले गरेको बताउँदै उनले यस अघि संविधान निर्माण, शान्ति पुनस्थापना पनि कांग्रेसको नेतृत्वमा भएको बताए ।
नेपाली कांग्रेसले गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ खोप्लाङमा बिरोध सभा गरेको छ ।
वडा सभापति श्याम कडरियाकोको अध्यक्षतामा भएको कार्यक्रममा सांसद प्रकाशचन्द्र दवाडी, मनकुमारी गुरुङ, गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, क्षेत्रीय सभापति गोबिन्द गुरुङ, प्रदेश सभापति नारायण गुरुङ, पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कंडेल, गोनपा सभापति चन्दनबाबु खत्री, वडा नम्बर १ का उप सभापति राजदल कुमाल, कृष्णप्रसाद भट्टराई, रमा विष्ट लगायतले मन्तब्य राखेका थिए ।




