
आँबुखैरेनीमा ‘स्वास्थ्यका लागि योग’ कार्यक्रम
तनहुँको आँबुखैरेनीमा स्वास्थ्य प्रर्वद्धनका लागि जीवनशैंली परिवर्तन कार्यक्रम तथा योग सम्बन्धी एक दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको आयोजनामा भएको कार्यक्रममा खानपानका कारण मघुमेह, मुटुरोग, मोटोपन, श्वासप्रश्वास, उच्च रक्तचाप जस्ता विभिन्न नसर्ने रोगहरु लाग्न नदिने बारेमा छलफल भएको थियो ।
ती रोगबाट बच्ने उपाय तथा योगको माध्यमबाट नशा सम्बन्धी रोगको निवारण कसरी गर्न सकिन्छ भन्ने बिषयमा जानकारी गराइएको कार्यक्रम संयोजक सोमकान्त पौंडेलले जानकारी दिए । कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल, बरिष्ठ कविराज निरिक्षक बल भद्र वाग्ले, कार्यक्रम संयोजक बैंद्य निरीक्षक सोमकान्त पौंडेल, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय लगायत ३५ जनाको उपस्थिति रहेको थियो ।
केन्द्रका प्रमुख तथा प्रशिक्षक डाक्टर राम प्रवोध मण्डलले सहभागीलाई प्रशिक्षण दिएका थिए ।




