
सांसद भएबापतको तलबभत्ता निर्वाचन क्षेत्रमा समाजसेवामा खर्च
गोरखाबाट निर्वाचित गण्डकी प्रदेशसभा सांसद प्रकाशचन्द्र दवाडीले सांसदको सेवा सुविधाबापत पाएका सबै रकम समाजसेवामा खर्च गरेका छन् । बुधबार गृहजिल्ला गोरखामा पत्रकार सम्मेलन गरी सांसद दवाडीले बिगत एकबर्षदेखि पाएको करिब छ लाख रुपैयाँ आफ्नै निर्वाचन क्षेत्रमा समाजसेवामा खर्च गरेको जानकारी दिएका छन् ।
प्रदेश सांसद भएबापत पाउने तलब, भत्तामा आफ्नो व्यक्तिगत सम्पत्तिबाट थपेर एक बर्षको अवधिमा आठलाख ९१ हजार, १६६ रुपैयाँ समाजसेवामा खर्च गरेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । ‘मैले सांसद भएपछि पोखरामा र गोरखामा अलग अलग पत्रकार सम्मेलन गरी सांसद भएबापत पाउने तलब र भत्ता रकम समाजसेवामा खर्च गर्ने घोषणा गरेको थिएँ’, उनले भने, ‘सोही बमोजिम यो तेस्रो बर्षको तलब भत्ता पनि समाजसेवामा नै खर्च गरेको छु । र हिसाबकिताब बर्षेनी पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने गरेको छु ।’ तलब भत्ताबापतको रकम खर्च भएका योजनाहरुको नियमित अनुगमन पनि भइरहेको उनले बताए ।
गतबर्षको पुस महिनादेखि यो बर्षको पुस महिनासम्मको रकम बिभिन्न २८ वटा शीर्षकमा खर्च भएको सांसद दवाडीले बताए । ‘बद्रीडाँडा युवाक्लव सौरपानीको भवन निर्माणका लागि ५० हजार, हर्मीको आहाले सामुदायिक भवन निर्माणका लागि १५ हजार, स्वाँराको सुलिकोट एकता समाजका लागि २५ हजार, बिभिन्न आठ जना घाइते तथा बिरामीलाई उपचार खर्चबापत एकलाख २० हजार रुपैयाँ खर्च भएको छ’, उनले भने, ‘त्यस्तै कोरोनाका कारण भएको लकडाउनमा बिभिन्न पटक राहत वितरणका लागि एकलाख १५ हजार रुपैयाँ खर्च भएको छ ।’ त्यस्तै आफ्नो निर्वाचन क्षेत्रका बिभिन्न चारवटा युवाक्लवलाई खेलकुद सामग्री खरिद तथा क्लवको भवन निर्माणका लागि एकलाख ७० हजार रुपैयाँ प्रदान गरेको उनले बताए ।
त्यस्तै निर्वाचन क्षेत्रभित्रका आमा समूह, महिला समूहहरुलाई सामुदायिक भवन निर्माण, सामुहिक भाँडाकुँडा खरिद लगायतका शीर्षकमा ६३ हजार रुपैयाँ, बिभिन्न ठाउँका सडक निर्माणका लागि ९५ हजार रुपैयाँ खर्च गरेको पनि उनले प्रस्तुत गरेको खर्च विवरणमा उल्लेख गरिएको छ । दुईवटा विद्यालयका लागि एकलाख रुपैयाँ, केही गुठी तथा सामाजिक संस्थाहरुलाई भवन निर्माण तथा भाँडाकुँडा खरिदका लागि एकलाख ८२ हजार रुपैयाँ प्रदान गरेको सांसद दवाडीले बताए ।




