| आइतवार, कार्तिक २२, २०८३

budi-gandaki-hydro

बूढीगण्डकी आयोजना छिट्टै सिलान्यास हुन्छ : उर्जामन्त्री रायमाझी


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्यलाई अघि बढाइने बताएका छन् । उनले उक्त आयोजना छिट्टै सिलान्यास हुने समेत बताए ।
मन्त्रालयमा मंगलवार आयोजित बूढीगण्डकी राष्ट्रिय सरोकार समितिका प्रतिनिधिसँगको छलफलमा उनले आफूले अघिल्लो पटक ऊर्जामन्त्री हुँदा आयोजनाको कामलाई अघि सारेको हुँदा अब छिट्टै नै शिलान्यास गरी निर्माण कार्य अघि बढाइने बताएका हुन् ।
मन्त्री रायमाझीले तत्कालीन समयमा आफू पटक–पटक निर्माणस्थलमै गएर विभिन्न समस्या तथा चुनौती हटाउने कार्यमा जुटेको भए पनि छोटो समयमै सरकार ढलेका कारण निर्माण कार्य अघि बढ्न नसकेको बताए । “अघिल्लो पटक पनि केपी शर्मा ओली प्रधानमन्त्री र म ऊर्जामन्त्री थिएँ”, उनले भने “संयोगले अहिले हामी पुनः त्यही जिम्मेवारीमा छौँ, अब आयोजना निर्माणको काम अघि बढ्छ ।”
विभिन्न जलविद्युत् आयोजनाको निर्माण कार्य चलिरहेको भन्दै मुलुक अब विद्युत् बिक्री गर्ने अवस्थामा पुगेको बताए । बूढीगण्डकी राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले घरजग्गाको ह्रासकट्टी र लाभ कर लिँदा स्थानीयवासीले उल्टै रकम बुझाउन पर्ने परिस्थितिको सिर्जना भएकाले ह्रासकट्टी र लाभकर बिना जग्गाको मुआब्जा दिनुपर्ने माग राखे । उनले जलविद्युत् आयोजनाको निर्माण कार्य अघि नबढ्दा जनता प्रताडित बनिरहेको भन्दै जग्गाको मूल्याङ्कन पनि निकै कम भएको गुनासो गरे ।
एक हजार दुई सय मेगावाटको आयोजना निर्माणका लागि करिब रु ४० अर्ब सङ्कलन भइसकेको छ । आयोजना निर्माणका लागि अधिग्रहण गरेको घरजग्गाबापत सरकारले ३४ अर्ब रुपैयाँ प्रभावित क्षेत्रका नागरिकलाई वितरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्