
आरुघाट गाउँपालिकाद्धारा किसानलाई बाँदर धपाउने यन्त्र बितरण
गोरखाको आरुघाट गाउँपालिकाले किसानलाई बाँदर धपाउने यन्त्र बितरण गरेको छ । खेतीबाली बाँदरले खाएर हैरान बनाएपछि किसानले गाउँपालिकासँग बाँदर धपाउने यन्त्र माग गरेका हुन् ।
अध्यक्ष पूर्णबहादुर दाहालले सोमवार गाउँपालिकामा आयोजित एक कार्यक्रमका बिच एक सय २० वटा बाँदर धपाउने यन्त्र बितरण गरेका छन् । एक सय ३३ जनालाई बितरण गर्ने लक्ष्य रहेको र बाँकी मंगलवार बितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव खनालले बताए ।
गाउँपालिकाले गत गाउँसभाबाट निर्णय गरेर उक्त यन्त्र बितरण गरेको हो । हरेक वडामा रहेको टोलहरुमा कम्तीमा १२ वटा पर्ने गरी बितरण गरिएको छ । किसानले एक हजार रुपैयाँ तिरेका छन् भने बाँकी गाउँपालिकाले सहयोग गरेको प्रमुख प्रशासकिय अधिकृत खनालले बताए ।
उक्त यन्त्रको मूल्य ढुवानी बाहेक दुई हजार चार सय रहेको गाउँपालिकाले जनाएको छ । यन्त्र ठुलो आवाजमा पड्काउँदा बाँदर धपाउन सजिलो हुने भन्दै किसान खुसी भएका छन् ।




