
गोरखाको फुजेलका गाईभैँसीमा खोरेत देखियो
गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३ फुजेलमा गाई भैँसीमा खोरेत रोग देखिन थालेको छ । किसानका केही गाई र भैँसीलाई ज्वरो आउने खुर, खुट्टामा घाउ आउने, एकनासले ¥याल चुहाउने, मुखमा घाउ देखिन थालेपछि तत्काल पशुबस्तु ओसार पोसार रोक्न गाउँपालिकाले सुचना जारी गरेको छ ।
गाउँपालिका भित्र एकअर्को ठाउँका पशुबस्तुमा खोरेत फैलन नदिन तत्काल लागि ओसारपोसार रोक लगाइएको गाउँपालिकाका पशु चिकित्सक हरि पन्तले बताए । ‘खोरेत सरुवा रोग हो, अन्यत्र फैलन नदिन हामीले ओसार पोसार बन्द गरेका हौँ’ उनले भने ‘भ्याक्सिन उपलब्ध गराउन भेटेरिनरी अस्पतालमा पत्राचार गरेका छौँ ।’ केही दिन भित्र भ्याक्सिन आएपछि अहिले लक्षण देखिएका क्षेत्रका गाई भैँसीमा लगाईनेछ ।
भ्याक्सिन ढिलो आउँदा अन्यत्र फैलन सक्ने खतरा भने रहन्छ । भेटेरिनरी अस्पतालका प्रमुख डाक्टर ऋषिराम सापकोटाले गण्डकी प्रदेशको क्षेत्रिय प्रयोगशालाबाट खोरेत बिरुद्धको भ्याक्सिन माग गरिसकेको बताए ।
प्रयोशालाबाट आउने बित्तिकै गण्डकी गाउँपालिकाको प्रभावित क्षेत्रमा पठाउने उनले बताए । समयमै उपचार भएन र रोग बढ्दै जाँदा खोरेतबाट पशुबस्तु मर्न सक्ने खतरा हुने पशु चिकित्सक बताउँछन् ।





