
गोरखाको मतदाता संख्या जम्मा दुईलाख सातहजार
सरकारले आउँदो बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेपछि जिल्ला निर्वाचन कार्यालय गोरखाले मतदाताको संख्या निश्चित गरेको छ ।
निर्वाचन घोषणा भएको दिन(गत पुस ५ गते)सम्मको तथ्याङ्कअनुसार गोरखामा दुईलाख सातहजार सातसय ४६ जना मतदाता रहेका छन्
सो दिनदेखि मतदाता नामावली दर्ता प्रक्रिया रोकिएका कारण यस पटकको निर्वाचनमा सोही संख्या निश्चित गरिएको निर्वाचन कार्यालयले जनाएको छ । ‘पुस ५ गतेदेखि यता कोही कसैको मृत्यू भएको वा बसाइँ सराई भएको भएमा बरु घट्न सक्छ, तर बढ्न सक्दैन’ जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले भने, ‘त्यसैले हामीले नाम संशोधनको काम धमाधम सञ्चालन गरिरहेका छौँ ।’
कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार गोरखा नगरपालिकामा ३३ हजार दुईसय आठजना मतदाता रहेका छन् । त्यस्तै निर्वाचन क्षेत्र नं. १ को शहीदलखन गाउँपालिकामा २२ हजार नौसय ३० जना, गण्डकी गाउँपालिकामा १७ हजार चारसय आठजना, भीमसेनथापा गाउँपालिकामा १८ हजार आठसय ४८ जना, आरुघाट गाउँपालिकामा १७ हजार ४९२ जना, धार्चे गाउँपालिकामा नौहजार आठसय ५१ जना र चुमनुब्री गाउँपालिकामा चारहजार छसय चार जना मतदाता रहेका छन् ।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ को पालुङटार नगरपालिकामा ३१ हजार एकसय ३२ जना मतदाता रहेका छन् । सिरानचोक गाउँपालिकामा २० हजार तीनसय छ जना, अजीरकोट गाउँपालिकामा १२ हजार ७८ जना र बारपाक सुलीकोट गाउँपालिकामा १९ हजार आठसय ८९ जना मतदाता रहेका छन् ।




