| आइतवार, कार्तिक २२, २०८३

धार्चेमा तातोपानी मेला जारी


उत्तरी गोरखाको धार्चे गाउँपालिका ३ तातोपानीमा हरेक वर्ष जस्तै यस वर्ष पनि तातोपानी मेला सुरु भएको छ । तातोपानी क्षेत्र संरक्षण तथा संवद्र्धन बिकास केन्द्रद्वारा आयोजित मेलाको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य हरिराज अधिकारीले उद्घाटन गरेका हुन् ।


‘आफ्नो गाउँठाउँ आफ्नो पहिचान, खेलकुद, कला, संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने नारासहित आयोजित मेला बिहिबारदेखि सुरु भए पनि विधिवत उद्घाटन भने शुक्रबार मात्र गरिएको हो ।


उद्घाटन समारोह आयोजक संस्थाका अध्यक्ष सुवन गुरुङको अध्यक्षतामा सञ्चालन भएको थियो । सो समारोहमा केन्द्रीय सदस्य हरिराज अधिकारी, धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङ, आरुघाट गाउँपालिकाका प्रमुख पूर्ण दाहाल, धार्चे गाउँपालिकाकी उपप्रमुख फूलमाया गुरुङ, पूर्व सहायकमन्त्री छमबहादुर गुरुङ, वडाअध्यक्ष इन्द्रप्रसाद गुरुङलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।


मेलाको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, बिभिन्न साँस्कृतिक कार्यक्रम, लोक नृत्य, लोक दोहोरी, धार्चे तारा सिजन ३ प्रतियोगिता संचालन हुने संस्थाका सविन सुनारले जानकारी दिए । कृषि तथा हस्तकला प्रर्दशनी, झाँकी सहितको कला संस्कृति प्रस्तुती पनि रहनेछ ।
लार्के दुर्गम सामुदायिक बिकास संस्थाको सहयोगमा मेला भएको हो । मेला स्थलमा स्थानीय उत्पादन, खाना, खाजाका स्टलहरु रहेकाछन् । त्यहाँका स्थानीयले कला संस्कृति देखाउनेछन् ।

नयाँ पुस्तालाई संस्कार सिकाउन मेला उपयोगी बन्ने अपेक्षा गरेको आयोजक तातोपानी क्षेत्र संरक्षण तथा सम्वद्र्धन बिकास केन्द्रका अध्यक्ष सुवन गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्