| सोमवार, कार्तिक २३, २०८३

यसरी बित्यो गोरखामा पारस शाहको एकदिन

पूर्व युवराज पारस शाहले बुधबार एकदिन पुर्खाको थलो गोरखामा बिताएका छन् । मंगलबार राती १२ बजे गोरखा आइपुगेका उनी बुधबार करिब पाँच बजे गोरखाबाट प्रस्थान गरेका छन् ।


मंगलबार एकरात गोरखा दरबार नजिकै रहेको होटल वृन्दावनमा साथीसंगीहरुसँग बिताए ।
पूर्वराजपरिबारको कुलदेवताको रुपमा मानिने गोरखकाली र गोरखनाथको पूजाआजाका लागि होटलबाट साँढे ११ बजे निस्किएका थिए ।


त्यहाँ केहीबेर निर्माणाधीन गोरखा दरबारको पनि अवलोकन गरे । दरबारको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति शाहले साथीसंगीहरुसँग चिन्ता ब्यक्त गरेका थिए ।


गोरखनाथका मूल पुजारी प्रदीपनाथ योगीसँग केहीबेर धर्मसँस्कृतिको बारेमा भलाकुसारी भएको थियो । ‘पढेलेखेका मान्छेहरुले सनातन धर्म, संस्कृतिको संरक्षण, जगेर्ना गर्नुपर्नेमा उनीहरुले नै नष्ट गर्दै गए’, योगीले भनेका थिए । ‘यो विस्तारै आफै ठिक हुन्छ’, शाहले प्रतिक्रिया दिएका थिए ।
पूजापाठ, ग्रहशान्ति, दान दक्षिणा र अवलोकन सकेर शाह साँढे १ बजे होटलमा फर्किएका थिए ।
त्यहाँ उनलाई स्वागत गर्न र साथ दिनका लागि गोरखा सदरमुकाम आसपासका राजसँस्थाप्रति आस्थावानहरु, राप्रपाका नेता कार्यकर्ताहरु भेला भएका थिए ।


उनी गोरखा सदरमुकामबाट मनकामनाका लागि दिउसो चारबजे प्रस्थान गरेका थिए । मनकामना केवलकार चढेर उनी मनकामना देवीको पूजाअर्चना गर्न पुगेका थिए । पूजा सकेर केहीबेरको मनकामना क्षेत्रको अवलोकनपछि उनी साँढे पाँचबजे पोखराका लागि प्रस्थान गरेका थिए ।
राजसंस्थाप्रति आस्थावान विशेषगरी राप्रपाका नेता, कार्यकर्ताले गोरखा भित्रिएदेखि पोखरा नफर्कुन्जेल उनको भ्रमणमा साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्