
धार्चेका ९४ जनालाई अपाङ्गता परिचयपत्र वितरण
धार्चे गाउँपालिकाका ९४ जना अपाङ्ता भएकाहरुलाई परिचय पत्र वितरण गरिएको छ । सो पालिकामा बिगत लामो समयदेखि काम गर्दै आएको फेज नेपाल नामक गैरसरकारी संस्थाको समन्वय र सहयोगमा गाउँपालिकाले परिचयपत्र वितरण गरेको हो ।
गत पुस १९ गतेदेखि २५ गतेसम्म खटिएका कर्मचारी तथा स्वयंसेवक हरुले अपांगता भएकाहरुलाई टोलटोलमा पुगेर परिचयपत्र प्रदान गरेको गाउँपालिकाकी उपप्रमुख फूलमाया गुरुङले जानकारी दिइन् । उनका अनुसार सातवटै वडामा पुगेर परिचय पत्र प्रदान गरिएको हो । ‘वडा नं. १ देखि वडा नं. ७ सम्मका टोलटोलमा पुगेर परिचय पत्र दिइयो’, उपाध्यक्ष गुरुङले भनिन्, ‘नयाँ ९४ जनालाई परिचय पत्र दिइयो । पुराना ३५ जनाको परिचयपत्र नविकरण गरियो ।’
पालिकाको तथ्याङ्कअनुसार वडा नं. मा १८ जनालाई, वडा नं. २ मा ११ जनालाई, वडा नं. ३ का २३ जनालाई, वडा नं. ४ मा दुई जनालाई, वडा नं. ५ का ११ जना लाई, वडा नं. ६ मा २१ जनालाई र वडा नं. ९ जनालाई अपांगता परिचयपत्र दिइएको हो । तथ्याङ्क अनुसार वडा नं. १ मा पाँच जना पूणर् अपांगता भएका छन् । वडा नं. २ मा चार जना, वडा नं. ३ मा तीनजना, वडा नं. ५ मा दुई जना, वडा नं. ६ मा तीनजना र वडा नं. ७ मा एकजनालाई पूणर् अपाङ्गताको रातो रङको परिचयपत्र प्रदान गरिएको छ । अपाङ्गता भएकाहरु लाई राज्यले दिने सेवा सुविधाका लागि परिचय पत्र अनिबार्य भएकाले पालिकाले चासोका साथ परिचयपत्र वितरण गरेको उपाध्यक्ष गुरुङले जानकारी दिइन् ।
‘रातो कार्डबाहक पूणर् अपाङ्गता भएकालाई मासिक तीनहजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता, नीलो कार्डबाहकलाई सोह्रसय रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता दिने गरिन्छ’, उनले भनिन्, ‘पहेँलो र सेतो रङको परिचयपत्र बाहक अपांगता भएकाहरुलाई पनि परिचयपत्रको आधारमा लोकसेवा लगायतका विभिन्न सेवा आयोगमा कोटाको व्यवस्था तथा यातायातको भाडामा सहुलियत लगायतका सुविधा हुने गर्छ ।’ सो परिचयपत्र शिविरमा गाउँपालिकाकी उपप्रमुख फूलमाया गुरुङ, अपांगता भएकाहरुको पहिचानका लागि डाक्टर बिनोद दुवाडी, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अमृत घले, संगीता पौडेल, फेज नेपालका चेतनाथ तिवारी, तुलाराम कार्कीलगायतका कर्मचारीहरु खटिएका उनले बताइन् ।




