| आइतवार, कार्तिक २२, २०८३

गोरखाका १५ सय ९० जनालाई पहिलो चरणमा कोरोनाको खोप


गोरखामा पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप १५ सय जनाभन्दा धेरैलाई लगाइने भएको छ ।


आइतबार साँझसम्म तयार पारिएको तथ्यांकअनुसार पहिलो चरणको खोप लगाउने स्वास्थ्यकर्मीको संख्या एकहजार पाँचसय ९० जना भन्दा धेरै रहेको स्वास्थ्य कार्यालयका महामारी सम्बन्धी सम्पर्क ब्यक्ति नारायणबाबु अर्यालले जानकारी दिए ।


हालसम्म गोरखा अस्पताल, स्वास्थ्य कार्यालय गोरखा, ११ वटै स्थानीय तहका तथा नीजि स्वास्थ्य संस्थामा कार्यरत एकहजार पाँचसय ९० जना स्वास्थ्यकर्मीहरुको नाम मन्त्रालयमा पठाइएको उनले बताए ।


कार्यालयका अनुसार गोरखा नगरपालिकाका २५३ जना, पालुङटार नगरपालिकाका २११ जना, शहिद लखन गाउँपालिकाका ११३, गण्डकी गाउँपालिकाका १२७ जना, सिरानचोक गाउँपालिकाका १३४ जनाको नाम मन्त्रालय पठाइएको छ ।


त्यस्तै अजिरकोट गाउँपालिकाका १०५, वारपाक सुलिकोट गाउँपालिकाका १२६ जनाको, भीमसेन थापा गाउँपालिकाका १०८, आरुघाट गाऊँपालिकाका १३८, धार्चे गाउँपालिकाको १०५ र चुमनुब्री गाउँपालिकाका ११९ जना स्वास्थ्यकर्मीको नाम मन्त्रालयमा पठाइएको कोरोना फोकल पर्सन अर्यालले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउनु पर्नेहरुलाई आईएमयु एप मार्फत नाम प्रविष्ट गर्न भनेको थियो । सोही अनुसार गोरखा अस्पताल र स्वास्थ्य कार्यालयका कर्मचारीहरुको विवरण गोरखा नगरपालिका अन्तर्गतनै समावेश गरिएको अर्यालले जानकारी दिए ।
सरकारले आगामी १४ गते बुधवार बिहान १० बजे कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्