
बलात्कारपछि गर्भवती बनेकी किशोरीको परिवारको गुनासो : प्रहरी कानमा तेल हालेर सुत्यो
बलात्कारपछि गर्भवती बनेकी गोरखाकी १४ बर्षकी किशोरी अबको एकसातापछि सुत्केरी हुदैछिन् । गोरखा नगरपालिका ८ खोलखोलेकी किशोरी सुत्केरी हुने दिन जति नजिकिँदै छ, उनका बुबाआमामा छटपटि उति नै चुलिँदैछ ।
‘छोरी सुत्केरी हुने भई । हामी पनि अब हजुरबा, हजुरआमा हुने भयौँ भनेर खुशी हुने कि मुख छोपेर रुने ?’ निधारमा धारे हातले हान्दै आमा भन्छिन्, ‘छोरीलाई पढाउँला, डाक्टर, इञ्जिनियर बनाऔँला भनेर कत्रो सपना देखियो । कति दुख गरियो । तर आज यस्तो दिन देख्नुप¥यो ।’ अहिले रातदिन रोएरै बित्ने गरेको उनले बताइन् ।
गोरखा नगरपालिका ८ आहालेका ६५ बर्षका तुलबहादुर थापाबाट १४ बर्षकी छोरी बलात्कृत भएपछि ज्याला मजदुरी गरेर जीविका चलाएका बुबा आमामा न रातको निद्रा, न दिनमा भोक छ ।
‘एकातिर बुढा रुन्छन्, अर्कातिर म रुन्छु । रुँदारुँदा आँखाको आँशु सुकिसक्यो’, किशोरीकी आमा भन्छिन्, ‘अहिले स्कूलमा जाँच चलिरहेको छ । सबैका छोराछोरी हाम्रो घरअघिबाट जाँच दिन हिड्छन् । आफ्नो छोरीको यस्तो हालत छ ।’
शिक्षक शिक्षिकाहरुले आफ्नो छोरी पढाइमा अब्बल छ भन्ने गरेको सम्झँदा उनलाई झन छटपटि हुन्छ । ‘सर मिसहरु तिम्रो छोरी पढाइमा एक नम्बर छ भन्थे । छोरीलाई धेरै पढाऔँला, डाक्टर, इञ्जिनियर बनाऔँला भनेर कत्रो सपना देखियो तर अहिले नाबालक छोरी यस्तो हालतमा छे’, उनले दुखेसो पोखिन् ।
गर्भवती किशोरी अहिले पोखराको थ्री एञ्जल्स नामक संस्थाको संरक्षणमा छिन् । सानै उमेरमा गर्भवती भएकाले सुत्केरी हुँदा जोखिम हुने त्रासले सो संस्थाको रेखदेखमा राखिएको किशोरीका बुबाको भनाइ छ ।
छोरी बलात्कृत भएको र गर्भवतीसमेत भएको बारे जानकारी पाएपछि उनले छोरीको बयानको आधारमा गत कात्तिक २५ गते जिल्ला प्रहरी कार्यालय गोरखामा किटानी जाहेरी दिएका थिए । आफूविरुद्ध जाहेरी परेको जानकारी पाएपछि थापा फरार भएका थिए । उनी अहिलेसम्म पनि फरार छन् ।
जाहेरी दिएको चार महिना बितिसक्दा पनि अभियुक्तलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि नबढाएको भन्दै पिडित बालिकाको परिबारले गुनासो गरेको छ । ‘चासो दिएर प्रहरीले उसको खोजी नै गरेको छैन’, पिडित बालिकाकी आमा भन्छिन्, ‘खोजिरहेका छौँ भनेर टार्छन मात्र तर खोजेकै छैन ।’ खोजेको भए चार महिनासम्म फेला पारिसक्नु पर्ने परिबारको तर्क छ ।
‘उ परिबारको सम्पर्कमा छ भन्ने हामीले बिभिन्न प्रमाण फेला पारेका छौँ’, उनी भन्छिन्, ‘तर प्रहरीले पक्राउ गर्दैन । कतै मिलेमतो पो छ कि भन्ने हामीले शंका गरेका छौँ ।’ छोरी सुत्केरी भएपछि कसको नाममा बच्चाको न्वारान गर्ने, लालनपालन खर्च कसले गर्ने, पछि बच्चाको जिम्मा कसले लिने भन्नेमा समस्या भएको उनले बताइन् ।
अभियुक्तको तीब्र रुपमा खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । ‘हामीले अभियुक्तको खोजी कार्यलाई तीब्र पारेका छौँ’, जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङ भन्छन्, ‘अभियुक्तको खोजीका लागि सूचना, जानकारी दिएर सहयोग गरिदिन स्थानीयबासीमा पनि अनुरोध गर्छु ।’




