| आइतवार, कार्तिक २२, २०८३

मालपोत गोरखामा मनोमानी, सेवाग्राहीलाई हैरानी

घटना नं. १
मेरो नाम सार्की गुरुङ हो । आईतवार बारपाक सुलिकोट गाउँपालिकाको सौरपानीदेखि मालपोत कार्यालय आएको हुँ । मेरो नाममा रहेको जग्गा भाई बितेकाले बुहारीलाई दिन आएको, हामी चार जना छौँ । आईतवार आएको मंगलवार सम्म पनि काम भएन । २० हजार लिएर आएको थियो सकियो । १० हजार फेरी बुहारीले बैंकबाट झिकेको छ । मंगलवार पनि काम सक्न गाह«ो छ । अधिकासं काममा खर्च भएको हो । बस्न चाँही हामी आफन्तकहाँ बसेका छौँ । अंशबण्डा गर्न यती धेरै दिन लागेको मलाई थाहा थिएन । भोलीपल्टै आउँछु भनेर आएको, घरमा बस्तुभाउ छ, श्रीमतीले मात्रै कसरी घर धानोस्, काम नसकी जानु पनि भएन ।
घटना नं.२
मेरो नाम यमबहादुर गुरुङ हो, ८४ वर्षको भएँ । शहिदलखन गाउँपालिका ताक्लुङदेखि नातीलाई जग्गा दिन आएको हुँ । सोमवार बिहान ८ बजे मालपोत आईपुगेँ काम नभएपछि मंगलवार फेरी आउनुप¥यो । एकै दिनमा काम नहुँदा म जस्तो बुढो मान्छे लठ्ठी टेक्दै हिड्दा दुःख पायो । बसमा आउँदा उस्तै सास्ती । बजारमा बस्ने ठाउँ छैन, मंगलवार भएन भने फेरी बुधवार आउनुपर्ला । भनेको बेला घर जाने गाडी पाउँदैन । रिर्जभ गरेर जाँदा महँगो पर्छ ।
घटना नं. ३
म गजमान गुरुङ हो । धार्चे ४ लाप्राकदेखि सोमवार मालपोत कार्यालय आएको हुँ । जग्गा अंशबण्डा गरेको हो । शान्ति गुरुङ र मैते गुरुङलाई जग्गा दिनुपर्ने हो । कहिले के मिलेन, कहिले के भनेको छ । काम भएको छैन । मान्छे धेरै छ भन्छ । हुँदैछन भन्छ । मैले केही बुझ्दैन । हुन्छ, हुन्छ भन्छ कहिले हुन्छ खै !
मालपोत कार्यालय गोरखामा यस्ता गुनासो अधिकासं सेवाग्राहीको छ । एकै दिनमा काम भएकाहरु भेट्न मुस्किल पर्छ । दुई देखि चार दिन सम्म काम लिएर बसेका सेवग्राही भेटिन्छन् । बिहन ९ नबज्दैदेखि काम लिएर भिड लाग्ने सेवाग्राही दिनभरी काम नभएर निराश हुँदै फर्कन्छन् । लेखापढी ब्यवशायीले आफुसँग काम लिएका टाठाबाठा सेवाग्रँहीको छिटो छिटो गराउँछन् भने सोझासाझालाई झुलाउँछन् । अधिकासं सेवाग्राहीलाई कामको प्रक्रिया थाहा हुँदैन । अहिले पनि सेवाग्राहीको फाईल बोकेर लेखापढी कार्यालयको कोठा कोठा चाहार्छन । फाँटका कर्मचारीले लेखापढीको अनुहार देखेपछि छिटो छिटो काम गर्ने र सेवाग्राही सँग रुखो बोल्ने गर्छन । भित्र कर्मचारी के काम गरिरहेका छन् भन्ने बाहिरबाट सहजै देखिँदैन । सेवाग्राही झनै अलमलमा पर्छन ।

कर्मचारी नहुँदा समस्या : कार्यालय प्रमुख थापा


मालपोत कार्यालयका प्रमुख देबेन्द्रबहादुर थापाले कर्मचारी नहुँदा सेवा ढिला भएको बताएका छन् । २६ जनाको दरबन्दी रहेको कार्यालयमा चार वर्षदेखि प्रमुख मालपोत अधिकृत छैनन् । दुई जनाको दरबन्दी रहेको मालपोत अधिकृतमा एक जना कार्यरत छन् । एक जना अधिकृतले प्रमुख मालपोत अधिकृतको जिम्मेवारीमा काम गर्नुपरेको उनले बताए । सात जना खरिदार मध्ये ४ वटा दरबरन्दी हाल सम्म पदपूर्ती भएको छैन । ६ जना नायब सुब्बा मध्ये दुई जना मात्रै कार्यरत रहेको कार्यालय प्रमुख थापाले बताए । ‘फाँटमा काम गर्ने कर्मचारी छैनन’ उनले भने ‘कर्मचारी नहुँदा सेवा दिन केही ढिलो भएको हो, २ बजे भित्र कागजात पुरा गरेर आएकालाई सेवा दिनसक्छौँ, भिड भएर ढिला भएको होला ।’
दुई बजे पछि आउने सेवाग्राहीले भने मालपोत कार्यालयमा पुरा गर्नुपर्ने कामको चक्र नभ्याउने हुँदा अर्को दिन सम्म लाग्ने उनले बताए । ‘भएको जनशक्तिबाट सेवा दिएका छौँ’ उनले भने ‘पटक–पटक कर्मचारी काम गर्दा बिभागले पठाएको छैन ।’ नामसारी, अंशबण्डा, घर कायम, फुकुवा, रोक्का लगायतका काम एकै पटक लिएर आउने हुँदा प्रक्रिया पुरा गर्न सेवाग्राहीलाई समय लागेको उनले बताए । ‘दैनिक ५० वटा लिखत पास भएको छ’ उनले भने ‘अहिले सेवाग्राहीको चाप धेरै भएकाले पनि समय लागेको हो ।’ पुस महिनामा एक करोड राजस्व जम्मा गरेको बताउँदै उनले अंशबण्डा, लिखत पारित, रजिष्टेसन, प्रतिलिपी, नामसारी, किनबेच लगायतको सेवा लिने धेरै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्