| आइतवार, कार्तिक २२, २०८३

गोरखा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण थाल्यो

गोरखा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण थालेको छ । यस अघि केही जनप्रतिनिधिको रोहबरमा हातहातै बितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता यो चौमासिक देखि बैंकमा पठाईने प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए ।
‘चालु वर्षको दोस्रो चौमासिकको सामाजिक सुरक्षा रकम माघ मसान्त सम्म बैंक मार्फत नागरिकको खातामा पुग्छ’ उनले भने ‘कुन वडामा कुन बैंकले बितरण गर्ने भन्ने मंगलवार टुङ्गिएको छ ।’ गोरखा नगरपालिका भित्र पाँच हजार पाँच सय ३४ जनाले सामाजिक सुरक्षा भत्ता पाउनेछन् । ‘हातहातमा बितरण गर्दा भन्दा बैंकबाट बितरण गर्दा पारदर्शी हुन्छ’ प्रमुख प्रशासकिय अधिकृत पन्तले भने । अब निरन्तर बैंक मार्फत सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने उनले बताए ।


वडा नम्बर १ मा ग्लोबल आइएमी बैंक, २ मा नबिल बैंक, ३ मा राष्ट्रिय बाणिज्य बैंक, ४ मा एनआईसि एसिया बैंक, ५ मा कुमारी बैंक, वडा नम्बर ६,१० र ११ मा प्रभु बैंकले सामाजिक सुरक्षा भत्ता बितरण गर्नेछन् । वडा नम्बर ७ मा सिद्धार्थ बैंक, ८ मा हिमालयन बैंक, ९ मा सांग्रिला बैंक, १२ मा कृषि बिकास बैंक, १३ मा र १४ मा मुक्तिनाथ बिकास बैंकले सामाजिक सुरक्षा भत्ता बितरण गर्नेछन् ।
‘वृद्धवृद्धा र अपाङ्गता भएकाहरु, बैंक सम्म पुग्न नसक्ने खाता खोल्न र रकम लिनमा प्राथमिकता दिने गरी योजना बनाइएको छ’ गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भने । नगरबासीलाई सेवा लिन सहज होस् भन्ने हेतुले फरक फरक बैंक तोकिएको उनले बताए । संम्बन्धित ब्यक्तिको खातामा रकम जम्मा गरिदिँदा आवश्यक परेको बेला झिक्न सक्ने, अनावश्यक फजुल खर्च रोकिने, बितरणमा दोहोरोपन नआउने,मृत्यू भईसकेकाहरुको बिवरण स्वत हट्ने हुँदा पारदर्शी हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्