| आइतवार, कार्तिक २२, २०८३

प्रशासन कार्यालयमै सेवाग्राहीको बिचल्ली, १२ बजे नै रित्तो हात फर्कन बाध्य

शिव उप्रेती, नरहरि सापकोटा
दृश्य १
सेवाग्राही : सर मेरो बहिनीको नागरिकता बनाउनु थियो । फर्म लिनुस् न ।
कर्मचारी : आजको कोटा सिद्धियो । अब भोलि १० बजे आउनू ।
सेवाग्राही : अहिले भर्खर त एक बजेको छ । चार बजेसम्म त काम भइहाल्छ नि ।
कर्मचारी : यहाँ धेरैजनाको काम गर्नुछ । तपाईसँग धेरै बोल्ने फुर्सद छैन । भोलि १० बजे आउनुस् ।
सेवाग्राही : त्यसो नभन्नु न सर प्लिज । हामी बारपाकदेखि आएको । आज नागरिकता बनाएर भोलि काठमाडौं नपुगी नहुने छ ।
कर्मचारी : चुपचाप ।
(कर्मचारीले कानमा तेल हालेपछि दाजु बहिनी आँगनमा झोक्राउँदै)
दाजु : कस्तो बरबाद भर्खर १ बजेको छ काम हुदैन रे, कोटो सिद्धियो रे । यस्तो पनि सरकारी कार्यालय हुन्छ ?
बहिनी : ला, भर्खर १ बजेको छ, अब काठमाडौँ गएर फेरि भोलि आउने कि होटलमा बस्ने त ?
यो बिडम्बना हो, बारपाक सुलीकोट १ बाट आएका खुशीमान घलेको दाजु बहिनीको ।
दृश्य २
सेवाग्राही : सर, पासपोर्ट फर्म भरेको ४५ दिन भयो । मेरो पासपोर्ट आयो होला ?
कर्मचारी : घडी हेर त । आज काम हुदैन । भोलि बिहान १० बजे आऊ है ।
सेवाग्राही : किन नहुने सर । भर्खर त साँढे १ बजेको छ । तपाईँको फाँटमा अरु भीड पनि छैन । म एक्लै हो सेवाग्राही । हेरिदिनू न । सरकारी कार्यालयको काम त चार बजेसम्म हुन्छ नि हैन र ?
कर्मचारी : तिमीले पासपोर्ट लिनका लागि पहिले राष्ट्रिय परिचयपत्रको फर्म भर्नुपर्छ । राष्ट्रिय परिचयपत्रको फर्म एकदिनमा जम्मा ३० जनाको मात्र भरिन्छ । ३० जनाको कोटा पुगिसक्यो । अब भोलिबिहानै १० बजे आऊ ।
सेवाग्राही : बक्राङदेखि आएको हो । आज पासपोर्ट पाइयो भने भोलि काठमाडौं जाने भनेको । बरबादै भयो नि ।
(कर्मचारीले सुन्नेकान नलगाएपछि शहीदलखन गाउँपालिका १ बक्राङबाट आएका कुमार रोका गह्रुङगो पाइला सार्दै बाहिरिन्छन् ।)

जिल्लाका सबै कार्यालय प्रमुखहरुको समेत नेतृत्व गर्ने प्रमुख जिल्ला अधिकारीले नेतृत्व गरेको जिल्ला प्रशासन कार्यालयबाट उनीहरु मात्र होइन, दर्जनौँ सेवाग्राहीको बिचल्ली हुने गरेको छ ।
बिना कुमारी बानियाँ आफ्ना पति मानबहादुर बानियासँग नागरिकता बनाउन दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालय पुगिन । काखे बालक बोकेर नागरिकता बनाउन एक घण्टा लाईनमा बसिन् । एक घण्टापछि बल्लतल्ल फाराम बुझाउने झ्यालमा पुगिन् तर जब उनलाई कर्मचारीले ‘तपाईँको अब फाराम लिन आज भ्याईँदैन । जानुस् । भोली १० बजे आउनुस्’ भने, तब छाँगाबाट खसे जस्तो भइन् ।
वडा कार्यालयमा बिहे दर्ताको काम सकेर उनी नागरिकता बनाउन आएकी थिइन् । नागरिकता बनाएर काठमाण्डौँ जाने योजनासहित आएका उनीहरु अन्ततः सदरमुकामकै होटलमा बस्नुप¥यो । ‘हामी भन्दा पछि आएकाहरुले भने ककसलाई टेलिफोनबाट सोर्सफोर्स लगाएर फाइल बुझाएका थिए’, उनले भनिन् ।
करिब साँढे १२ बजे जिल्ला प्रशासन कार्यालयमा छोरी चन्दन बराकोटीको नागरिकता बनाउन पुगेकी मनु बराकोटीको कागजात लिएर पनि एक घण्टापछि कर्मचारीले फिर्ता गरिदिए । ‘प्रशासन कर्मचारीले भित्रबाट नाम बोलाए । नागरिकता बन्यो होला भनेर लिन गएको त फाईल पो फिर्ता दिएर आज भ्याईँदैन भने’ चन्दन बराकोटीले दरौँदीसित भनिन् ।

संगै गएकी आकृति बराकोटीको फाइल पनि कर्मचारीले उसैगरी फिर्ता गरिदिए । ‘आईतवार क्याम्पसको पढाई छोडेर नागरिकता बनाउन आएका थियौँ । अब अर्को दिन पनि पढाई छुट्ने भयो’ सुष्माले भनिन् । तनहुँमा आफन्तको नागरिकता बनाउन जाँदाको अनुभव सम्झँदै उनले थपिन् ‘त्यहाँ त चार बजेसम्म नागरिकता बन्थ्यो, त्यो पनि कागजात बुझाएको आधा घण्टामा पाइएको थियो । यहाँ त १२ नबज्दै देखि काम आज भ्याईँदैन, हुँदैन भन्दा रहेछन् ।’
पालुङटार नगरपालिका ७ च्याङ्लीका कुलबहादुर आलेले पनि आईतवार नागरिकता पाएनन् । बिहान १० बजे नै जिल्ला प्रशासन नआएका कारण र उनी भन्दा अघि ७० जनाले फारम बुझाएकाले उनको पालो आएन । बुबा तेजबहादुर आलेलाई लिएर उनी अर्को दिन फेरी आउन भनेपछि दुई बजे नै घर फर्किए । ‘अब बिहानै ट्याक्सी रिर्जभ गरेर आउनुपर्ला’ तेजबहादुर ले भने ‘चार बजेसम्म त सरकारी कार्यालय खुल्नुपर्ने हो, तर खै अझै तीन घण्टा बाँकी छ तर यहाँ समय सकियो भन्छन् ।’
प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले कर्मचारी थोरै हुँदा सेवा दिन नसकिएको बताएका छन् । एक दिनमा ७० वटा नागरिकता दिने वा दुई बजेसम्म कागजात पेश भएकालाई मात्र दिन सकिने गरी प्रशासनले नियम बनाएको उनले बताए । ‘कर्मचारी थोरै छन्, बिहान आएदेखि टाउको उठाउन पाउँदैनन, चिया खाने पनि फुर्सद छैन’ प्रजिअ भट्टराईले भने ‘बिहानै आउनुप¥यो, हामीले सुचना जारी गरेका छौँ ।’ तर दिउँसो साँढे एक बजेदेखि खाजा खान गएका कर्मचारी दुई बजेसम्म कार्यालय नआउने सेवाग्राही गुनासो गर्छन् ।
सिफ्ट सेवा दिन सकिँदैन ? भन्ने जिज्ञासामा प्रजिअ भट्टराईले नागरिकता बुझेका कर्मचारी चाहिने, दुई सिफ्ट गर्ने गृहमन्त्रालयको निर्देशन नभएको, सेवा दिने कर्मचारी अभाव रहेको बताए । ‘हामीले सके सम्म चाँडो आउनु भन्ने हो, अरु के गर्न सक्छौँ र ?’ प्रजिअ भट्टराईले भने, ‘७० वटा कोटा निर्धारण गरेको भन्नु मात्र हो । आइतबार हामीले एकसय १५वटा नागरिकता बनाएका छौँ ।’
गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले चार बजेसम्म कार्यालय प्रवेश गरेकाहरुको कागजात लिनुपर्ने बताएका छन् । ‘टाईम यति उति भन्ने हुँदैन, कार्यालयमा डकुमेन्ट भएका मानिस प्रवेश गरेपछि काम सम्पन्न गर्नुपर्छ’, प्रवक्ता बुढाले भने, ‘अरु जिल्लाबाट त यस्तो गुनासो आएको छैन । गोरखामा मात्र के नियम रहेछ यस्तो ? एक बजे नै रोक्ने भन्ने त हुँदैन हुँदैन । सकेसम्म काम गरेरै पठाउनुपर्छ ।’ फाइल सबैको लिएर पनि काम गर्न नभ्याए भ्याइएन भन्न सकिने उनले बताए । तर फाइल नै नलिनु उचित नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्