
भूमि समस्याका बारेमा गोरखाका तीनवटा स्थानीय तहसँग छलफल
भूमिसम्बन्धी समस्या समाधान आयोगले गोरखाका तीनवटा स्थानीय तहसँग छलफल गरेको छ । स्थानीय स्तरमा भूमि संम्बन्धित समस्या, समाधानका उपाए लगायतका बारेमा छलफल भएको हो ।
शहिदलखन गाउँपालिका, सिरानचोक गाउँपालिका र चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधी, वडा सचिव लगायतको उपस्थितीमा छलफल भएको हो ।
भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रिय सदस्य एकबहादुर रानाले भूमिसम्बन्धी समस्याका बारेमा जनप्रतिनिधी र कर्मचारीलाई जानकारी गराएका थिए । आयोगले गरेको काम, समस्या समाधानमा जनप्रतिनिधी, कर्मचारीको भुमिकाको बारेमा उनले बताए ।
स्थानीय स्तरबाट भूमिहिनको हो वा होईन भन्ने यकिन गरेर सोही अनुसार सिफारिस गर्ने हो भने सच्चा भूमिहिनले राज्यबाट पाउने सेवा सुविधा सहज रुपमा पाउन सक्ने उनले बताए । अहिले भूमिसम्बन्धि ऐन २०७६ अनुसार सरकारले भूमिहिनहरुलाई जग्गा उपलब्ध गराउने रणनीति बनाएको छ ।
शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय समिति उपप्रमुख जानुका अधिकारी, सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, सिरानचोक गाउँपालिकाका उपाध्यक्ष रिता देवकोटा लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।




