
धार्चेमा पशुचौपाया व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
गोरखाको दुर्गम धार्चे गाउँपालिकामा घरपालुवा पशुचौपाया व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । घोँडा तथा खच्चडलाई व्यवस्थापन गर्ने बारे तीनदिने तालिम सम्पन्न भएको गाउँपालिकाका पशु शाखाका प्रमुख ठाकुर ढकालले जानकारी दिए ।
‘तालिममा घोँडा खच्चडको बानी ब्यहोरा, घोँडा, खच्चडलाई काबुमा लिने तारिका, प्रशव रोग, उपचार विधि, पशुकल्याण तथा पशु अधिकारका बारेमा तालिम दिइएको थियो’, ढकालले भने, ‘गाउँपालिकासँगको समन्वयमा पशुस्वास्थ्य तालिम तथा परामर्श सेवाले आयोजना गरेको तालिममा पोखराबाट आउनु भएका डाक्टर नविन पौडेल र डाक्टर रञ्जित ढकालले सहजीकरण गर्नुभएको थियो ।’
धार्चेका बिकट गाउँहरुमा मोटरबाटो नपुगेका कारण मान्छेहरुले आवतजावतका लागि घोँडा र सामान ढुवानीका लागि खच्चडको प्रयोग गर्दै आएका छन् ।
सोही अवसरमा धार्चे गाउँपालिकास्तरीय पशु स्वास्थ्यकर्मी सञ्जाल गठन गरिएको छ । गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङको अग्रसरतामा स्थानीय पशुस्वास्थ्यकर्मी मीनबहादुर गुरुङको अध्यक्षतामा वुद्धिप्रसाद घले सचिव र लीला गुरुङ कोषाध्यक्ष रहने गरी सञ्जाल गठन गरेको ठाकुर ढकालले बताए ।
भेलामा पशुस्वास्थ्यकर्मीहरुले ३५ दिन तालिम लिएकाले पशुस्वास्थ्यसम्बन्धी औषधी पसल राख्न पाउने यसअघिको व्यवस्था खारेज गरिएकोमा विरोध जनाएका थिए । दुर्गम गाउँमा सहरीक्षेत्रमा झैँ धेरै पढेकाहरुको अभाव भएकाले ३५ दिने तालिम लिएकाले पनि औषधी राख्न पाउनु पर्ने माग गरेका थिए ।




