
शरीरभरि चोटपटक, निलडाम भएको मृतकको पोष्टमार्टम रिपोर्ट : ‘आत्महत्या’
शरीरभरि निलडाम र चोटपटक भएको एक मृतकको पोष्टमार्टम गरी चिकित्सकले ‘झुण्डिएर आत्महत्या गरेको’ निश्कर्षसहितको प्रतिवेदन प्रस्तुत गरेका छन् ।
धार्चे गाउँपालिका ३ उहियाकी पुतली गुरुङको पोष्टमार्टम रिपोर्ट ‘झुण्डिएर आत्महत्या’ भनेर आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।
मृतकका श्रीमान पुनमान घलेविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता भएको छ । मृत अबस्थामा भेटिएकी पुतली गुरुङका श्रीमान घलेविरुद्ध मुद्धा दर्ता गरी १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।
घलेलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
दुर्गम उहिया गाउँकी ५१ बर्षीया पुतली गुरुङ गत पुस १६ गते घरभित्रै झुण्डिएको अबस्थामा भेटिएकी थिइन् । मृतकको अनुहार, बायाँ हातमा चोटपटक, भित्रि शरीरमा निलडाम देखिएपछि स्थानीयबासीले उनको आत्महत्या नभै हत्या भएको दाबी गरेका छन् । तर परिबारले भने पोष्टमार्टम गरी रिपोर्ट नआउँदै अन्त्येष्टि गरिसकेको छ ।
शरीरभरि चोटपटक रहेको पुतलीको शवको पोष्टमार्टम गरी चिकित्सकले आत्महत्या गरेको प्रतिवेदन पेश गरेका मृतकका आफन्त लालमती गुरुङले बताइन् ।
‘सानीआमा मरेको खबर सुनेर हामी गाडी रिजर्भ गरेर गोरखा बजारबाट रातीराती उहिया पुग्यौँ । प्रहरीले मलाई सानीआमाको शरीरको लुगा खोल्न अह्राउनु भयो । मैले लुगा खोल्दा मुखमा, आँखामा, नाकमा, देब्रेहातमा चोटपटक देखे । भित्रि शरीरभरि रगत बगिरहेको थियो’, लालमतीले भनिन्, ‘हामीलाई थाहै नदिई डाक्टर बोलाएर पोष्टमार्टम गराएछन् । अन्त्यष्टि पनि गरेछन् । अहिले पो डाक्टरको रिपोर्टमा आत्महत्या गरेको भनेर आएको छ अरे ।’
आफूहरु अन्यायमा परेको तर न्याय पाउने तरिका थाह नपाएको उनले गुनासो गरिन् ।




