| सोमवार, कार्तिक २३, २०८३

उपेक्षित भइरहनु परेकोमा अपाङ्गता भएकाहरु चिन्तित

आफूहरु अझै पनि उपेक्षित भइरहनु परेको गोरखाका अपाङ्गता भएकाहरुले गुनासो गरेका छन् । संविधान र कानुनमा अपाङ्गता भएकाहरुलाई संरक्षण र सहयोगको ब्यवस्था भएपनि अवस्था नबदलिएको गुनासो उनीहरुको छ ।
आइतबार गोरखा सदरमुकाममा आयोजित ‘अपाङ्गता भएका व्यक्तिहरुको समावेशिता, पहुँच र सशक्तिकरणमा सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा अपाङ्गता भएकाहरुले यस्तो गुनासो गरेका हुन् ।
अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार, अपाङ्गता सम्बन्धी शब्दावलीको प्रयोगमा भइरहेको कठिनाई, अपाङ्गता भएका व्यक्तिहरुसँग अन्तर्वार्ता तथा तस्बिर, भिडियो गर्दा याद गर्नुपर्ने कुराहरु, अपाङ्गता भएका व्यक्तिहरुलाई प्रयोग गरिनुपर्ने र प्रयोग गर्न नहुने शब्दहरुको बारेमा गोरखाका संचारकर्मीसँग छलफल भएको थियो ।
उक्त कार्यक्रममा अपाङ्गता भएका मानिसहरुले भोगिरहेको विभिन्न समस्याहरुको बारेमा नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष रत्ना गुरुङले जानकारी गराएकी थिईन । उनले कानुनी ब्यवस्था र प्रयोगका अवस्था लगायतका बारेमा संचारकर्मीलाई बताईन् ।
छलफलका क्रममा सार्वजनिक यातायातमा कम्तिमा दुईवटा सिट अपाङ्गता भएकाहरुका लागि व्यवस्था भए पनि भाडामा भने कुनै छुट नगरिएको, गोरखाका सरकारी कार्यालयहरु अपाङ्गमैत्री नभएको, नेत्रहिन संघका अध्यक्ष पवन कुमार बस्नेतले गुनासो गरे ।
दृष्टिविहिन व्यक्तिहरुले पढ्न मिल्ने ब्रेललिपि (कागजमा अथवा कुनै ठाउँमा थोप्लाहरु अथवा उभारहरु छामेर शब्द थाहा पाउने पद्धति) कुनै पनि कार्यालयमा नभएको पनि उनले बताए । श्रवणशक्ति कम भएका वा श्रवण कठिनाइ भएका व्यक्तिहरुको लागि सांकेतिक भाषाको पनि व्यवस्था नभएको बताए ।
युएसएआईडी, आइफेस र नेपाल अपाङ्ग महिला संघको आयोजनामा भएको उक्त कार्यक्रम भएको हो । नेपाल अपाङ्ग महिला संघ गोरखाकी अध्यक्ष गितामाया श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष किशोरजंग थापाले अपाङ्गता भएका संघ संस्थाले गर्ने काम पारदर्शी हुनुपर्ने बताए । साथै संचारकर्मीहरुले अधिकार प्राप्तिका लागि र अपाङ्गता भएका ब्यक्तिहरुको पक्षमा संचारकर्मी सँधै रहने बताए । उक्त कार्यशालाको सहजिकरण गंगा देबकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्