
आरुपोखरी समाज काठमाण्डौँद्वारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग
आरुपोखरी समाज काठमाण्डौँले आरुपोखरी स्वास्थ्य चौकीका लागि एम्बुलेन्स सहयोग गरेको छ । आरुघाट गाउँपालिका वडा नम्बर ८ स्थित स्वास्थ्य चौकीका लागि शनिवार एम्बुलेन्स प्रदान गरिएको हो ।
गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहाल मार्फत स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरिएको हो । एम्बुलेन्स गाउँमै भएपछि बिरामी पर्दा, प्रसुती सेवा लगायत कामका लागि सहज हुने भन्दै सर्वसाधारण खुसी भएका छन् ।
आरुपोखरी समाज काठमाण्डौँका अध्यक्ष राजेश्वर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विषेश अथिति गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत एकदेव खनाल, वडा नम्बर ८ का अध्यक्ष मुरारी खनाल, ७ का अध्यक्ष रणबहादुर बराम लगायतले आरुपोखरीबासीलाई सहज सेवा लिन एम्बुलेन्सले मद्धत पुग्ने बताए । एम्बुलेन्सले उक्त वडाभित्र मात्र नभई समग्र आरुघाट गाउँपालिकाका जनतालाई सेवा दिन सक्ने गाउँपालिका अध्यक्ष दाहालले बताए ।
एम्बुलेन्स खरिद समितिका संयोजक बिरहादुर अधिकारीले उक्त अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा आरुपोखरी समाजका पूर्व अध्यक्ष राजेन्द्र खनाल, इश्वर ढकाल, समाजका उपाध्यक्ष बासु भट्ट, शुरेस खनाल लगायतले शुभकामना ब्यक्त गरेका थिए । अभियान्ता एवं एम्बुलेन्स खरिदका दाताहरुलाई सम्ममान समेत गरिएको समाजका सचिव शुरेस खनालले बताए ।





