| सोमवार, कार्तिक २३, २०८३

संसद विघटनको निणर्य फिर्ता लिन शिक्षक महासंघको माग

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले प्रतिनिधि सभा बिघटनको घोषणा गरेको भन्दै नेपाल शिक्षक महासंघले विरोध गरेको छ । महासंघको जिल्ला समितिले शनिबार विज्ञप्ति जारी गरी असामयिक प्रतिनिधिसभा बिघटनको घोषणा फिर्ता लिन आग्रह गरेको छ ।

‘प्रधानमन्त्री ओलीद्वारा असंवैधानिक, अलोकतान्त्रिक ढंगबाट प्रतिनिधि सभा विघटनको घोषणा गरिएकोप्रति नेपाल शिक्षक महासंघ, जिल्ला समिति घोर भत्र्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘असा मयिक प्रतिनिधिसभा विघटन घोषणालाई अविलम्ब सच्याउन माग गर्दछ अन्यथा शिक्षक महासंघ सशक्त प्रतिकारमा उत्रिन बाध्य हुनेछ ।’

शिक्षक महासंघका जिल्ला अध्यक्ष ध्रुव भट्ट र महासचिव श्यामप्रसाद लामिछानेद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा नेपाली जनतालाई विकास, संवृद्धि र सुशासन दिनुको सट्टामा वर्तमान सरकारले कुरैकुरामा, उखान टुक्कामा जनतालाई अल्मल्याउने, भ्रष्टाचारलाई संस्थागत गर्दै भ्रष्टाचारीलाई संरक्षण गरेको, नेपालको संविधान २०७२ को मर्म र भावनाविपरीत वर्तमान प्रतिनिधिसभा विघटन गरेको भनिएको छ । निणर्यलाई तत्काल सच्याउन महासंघको माग छ ।

प्रतिक्रिया दिनुहोस्