| आइतवार, कार्तिक २२, २०८३

आर्थिक अभावले नाभीमा मासु पलाएका नौ महिने बालकको शल्यक्रिया हुन सकेन


दरौँदी समाचारदाता
नाभीमा मासु पलाएर बिरामी परेका गोरखा नगरपालिका वडा नम्बर ३ लप्सेका आरोस उपरकोटीको शल्यक्रिया गर्न आर्थिक अभाव भएको छ । नौ महिने बालवकको पेटमा मासुको डल्लो रहेको र चिकित्सकले शल्यक्रिया गर्न सुझाव दिएको उनका बाबु रामशरण उपरकोटीले जानकारी दिए ।


आर्थिक अभावका कारण छोराको उपचार गराउन नपाएको आमा सविनाले दुखेसो गरेकीछन् । ‘जति उपचारमा ढिलो हुन्छ, त्यति नै बालकको स्वास्थ्य जोखिम हुदै जान्छ भनेका छन् तर छिटो उपचार गर्न हामीसँग पैसै छैन’, उनले भनिन् ।
अपांग भएका कारण आफू पनि कमाइ गर्न नसक्ने भएकाले उपचार खर्च जुटाउन नसकेको बुबा रामशरणको भनाइ छ । ‘म पनि अपाङ्ग छु, बिहान बेलुकी जसोतसो छाक टारेका छौँ । उपचार गर्न धेरै पैसा लाग्छ रे हामीसँग पैसा छैन’ खुट्टामा बैशाखी लगाएर बसि रहेका उनले भने ।
बच्चाको जन्मेदेखि नै नाभी बाहिर मासुको डल्लो देखिएको उनले बताए । ‘पेटमा मासुको डल्लो देखिएपछि कान्ति बाल अस्पतालमा उपचार गर्न लग्यौँ, पैसा धेरै लाग्छ भनेपछि फर्कियौँ’, उनले भने । दुई महिना भित्रपैसा जोहो गरेर शल्यक्रिया गर्न जाने योजना रहेको उनले बताए ।


इन्द्रेणी कार्यक्रम मार्फत ४० हजार र गोरखाका अन्य सहयोगीहरुबाट २० गरी करिब ६० हजार रुपैयाँ आर्थिक सहयोग जुटेको उनले बताए । ‘पैसा यति नै लाग्छ भनेर डाक्टरहरुले पनि भन्नुभएन, तर धेरै पैसा लाग्छ जुटाएर आउनु भन्नुभयो’, उपरकोटीले भने । अहिले उनी हारगुहार गरी छोराको शल्यक्रिया गर्न पैसाको जोहो गरिरहेका छन् । आर्थिक अवस्था कमजोर भएको परिवार भएकाले मागेर पैसा संकलन गर्नु बाहेक अरु उपाए नभएको उनले दुखेसो गरे । रामशरण आफु अशक्त छन् भने श्रीमती पनि बेरोजगार छिन् ।
उनले सहयोग गर्न इच्छुकलाई आरोस उपरकोटीको प्रभु बैंक गोरखा शाखामा रहेको बैंक खाता नं. ०४२०१६९६०४१०००१६मा रकम जम्मा गरिदिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्