| आइतवार, कार्तिक २२, २०८३

बेनिघाट लार्के सडक जगत बजार खण्डमा एकबर्षदेखि अबरुद्ध

नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट, आरुघाट लार्के सडकको जगत खण्ड निर्माणको काम एकबर्षदेखि अबरुद्ध भएको छ ।

बजार क्षेत्रभित्रबाट सडक अघि बढाउने बाटो नपाएपछि सो खण्डको काम अवरुद्ध भएको वडा अध्यक्ष रामकुमार गुरुङले जानकारी दिए ।


‘जगतबजारभन्दा पछाडिबाट सडक निर्माण गर्ने भनेर सर्भे भएको थियो । तर पछाडिबाट ट्रयाक खन्दा बिस्फोट नगरी हुदैन । बिस्फोट गर्दा बजारका करिब २० घर ध्वस्त हुन्छन्’, अध्यक्ष गुरुङले भने, ‘बजारभन्दा तलबाट लैजाउँ भने पनि बजार भासिने करिब करिब निश्चित छ । बजारभित्रबाट सडक निर्माण गर्नका लागि ठाउँ साँगुरो छ ।

त्यसमाथि पनि झन बाटोको बीचमा माने छ । त्यसैले कुन बाटो सडक निर्माण गर्ने भन्ने अहिलेसम्म टुंगो नलाग्दा सडक निर्माण हुन नसकेको हो ।’ बैकल्पिक उपाय अहिलेसम्म फेला नपारिएको उनले बताए ।


जगतभन्दा तल पनि ट्रयाक खनिएको छ । जगतभन्दा माथि पनि घट्टेखोलासम्म सडकको ट्रयाक निर्माण भएको छ । तर बीचको करिब आठसय मिटरखण्ड एकबर्षदेखि अलपत्र रहेको स्थानीय होटल व्यवसायी गणेश कार्कीले जानकारी दिए ।


सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाले स्थानीयसँगको समझदारीका लागि एकबर्षदेखि सो ठाउँमा सडक निर्माण नगरेको हो ।


‘सर्भे त पछाडिबाट लैजाने भनेर गरेको हो तर त्यहाँ बिस्फोट गर्दा स्थानीयबासीलाई तीनसय मिटर भन्दा टाढा लगेर राख्ने रहेछ । यहाँ त जम्मा ५०, ६० मिटर छ । बिस्फोट गर्न थालेपछि यहाँको कुनै घर जोगिदैन’, उनले भने, ‘पचासौँ लाख लगानी गरेर निर्माण गरेका होटलहरु छन्, घरहरु छन् । सेनाले काम गरेको ठाउँमा क्षतिपूर्ति पनि दिने गरेको देखिएन । त्यसैले स्थानीयबासीले त्यो बाटो सडक निर्माण गर्न असहमति जनाएका हुन् ।

बीचबाट सडक निर्माण गर्न पनि चौडाइ मुस्किलले चार मिटर होला । यो त भविष्यको उत्तर दक्षिण राजमार्ग हो । त्यतिबेला चौडा बढाउन मिल्दैन ।’ पछाडि खोतल्दा बजार पहिरिन सक्ने र बूढीगण्डकी पनि नजिकै रहेकाले संरचना कच्ची हुने हुँदा समस्या जटिल रहेको उनले बताए ।
अहिले जगतसम्म गाडी जाने अबस्था छैन । सडक स्तरोन्नति गरेर गाडी चल्ने भएपछि सो खण्डमा पनि काम गर्ने बाध्यता आउँछ ।

त्यतिबेला रस्साकस्सी हुने उनले बताए । ‘अल्पकालीन रुपमा होइन, अहिले समय छँदै घनिभूत छलफल गरी दीर्घकालीन सोचाइका साथ काम गर्नुपर्छ’, कार्कीले भने, ‘हतारमा काम बिगारेर फुर्सदमा पछुताउनु भन्दा अहिले नै उपयुक्त बिकल्प निकाल्नुपर्छ ।’


नेपाली सेनाको सडक निर्माण कार्यदलले पनि स्थानीयबासीको निर्णय पर्खिरहेको जनाएको छ । ‘सबैभन्दा कम क्षति हुने गरी स्थानीयबासीले सबैभन्दा राम्रो बिकल्प दिनुहोला र काम गरौँला भनेर पर्खिरहेका छौं’, सो सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्ट भन्छन्, ‘उहाँहरुबाट उपयुक्त बैकल्पिक सुझाव आउनेवित्तिकै हामीले काम सुरु गरिहाल्छौँ ।’


सेनाले बेनिघाट, आरुघाट, लार्के सडकको हावाडाँडादेखि लार्केसम्म निर्माणको जिम्मा लिएको हो । कूल ९२ किलोमिटरमध्य हालसम्म करिब ३० किलोमिटर ट्रयाक खोल्ने काम गरेको कार्यदलले जनाएको छ । १७ किलोमिटरसम्म भने गतबर्षदेखि नै साना सवारीसाधन चल्ने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्