
५० बर्ष पुरानो भारतीय सेनाको उङ्वे क्याम्प
चुमनुब्री गाउँपालिका वडा नं. ३ घट्टेखोलाबाट फिलिमको उकालो चढ्नुअघि एउटा जीणर् झोलुङ्गेपुल छ । पुलजीपभन्दा केही माथि उङ्वे भन्ने ठाउँ छ । त्यहाँ एउटा लामो टहरो लमतन्न छ ।
२०३० सालमा निर्माण भएको सो टहरो जीणर् छ । टहरोमा ३३ बर्षसम्म वुद्ध प्रावि सञ्चालन भएको थियो ।
२०६३ सालमा वुद्ध प्रावि स्तरोन्नति भएर मावि बन्यो र फिलिममा स्थानान्तरण भयो । अहिले सो जीणर् टहरो झाडीभित्र बेपर्वाह अलपत्र छ ।
विद्यालय सञ्चालन हुनुअघि सो ठाउँमा आर्मी क्याम्प थियो, त्यो पनि भारतीय । नेपालका बिभिन्न १७ ठाउँमा भारतीय सेनाको क्याम्प थियो । त्यसमध्य एउटा यही थियो ।
स्थानीय बलबहादुर कार्कीका अनुसार त्यहाँ २००८ सालदेखि २०२८ सालसम्म भारतीय सेना बसेका थिए । ‘सबै गाउँले मिलेर यहाँ ठूलो ब्यारेक घर बनाएका थिए । गाउँलेले श्रमदान गरेर पनि ब्यारेक घर बनाउँदा १५ हजार रुपैयाँ खर्च भएको थियो’, उनले भने, ‘त्यहाँ पाँच जना भारतीय सेना बस्थे । उनीहरुलाई हामी बडेसाप् भन्थ्यौँ । उनीहरु वाकीट्वाकी सेटमा सिधै नयाँ दिल्लीमा सम्पर्क गर्थे । हिन्दीमा खै के के बोल्थे ।’ भारतीय सेनासँग नेपालको महिन्द्र दलका छ जना सेना पनि बस्ने उनले बताए ।
सिर्दिबास क्याम्पमा बस्ने भारतीय सेना बेलाबेला सीमा क्षेत्रतिर गस्तीमा जाने र जासुसी गर्ने कार्की बताउँछन् । ‘बेलाबेला निस्केर नाम्रुङसम्म गस्ती जान्थे । खम्पासित भेटघाट गर्थे, चिनियाँ सरकारको जासुसी गर्थे भन्ने सुन्थ्यौँ तर आफ्नो आँखाले देखिएन’, उनले भने ।
भारतीय सेना बस्ने ढुङ्गा माटोले बनेको र फलेकले छाएको घर धेरै आकर्षक थियो । बेलाबेला आफूहरु पनि त्यहाँ जाने गरेको तत्कालीन जगत प्रहरी चौकीमा कार्यरत नारायणभक्त अर्याल बताउँछन् । ‘फलेकले छाएको, ठूल्ठूला कोठा भएको घर थियो । स्रोत साधनले सम्पन्न थियो’, अर्याल भन्छन्, ‘कहिलेकहीँ हामी पनि त्यहाँ जान्थ्यौँ । चिया खान्थ्यौँ । नेपाली सेनाको भने कोही पनि देखेनौँ ।’ सहयोगीहरु भने नेपाली नै रहेको उनले बताए । ‘नाम्रुङतिर गस्ती जाँदा पनि नेपाली सहयोगी लिएर जान्थे’, उनले भने, ‘उनीहरुले के के गर्थे भन्ने बारेमा बुझ्नुपर्ने हाम्रो ड्युटी थिएन । बुझ्नुपर्ने ड्युटि भएको भए बुझिन्थ्यो ।’ आफू बसुञ्जेल भारतीय सेनासँग सम्बन्धित सम्झन लायक कुनै घटना नभएको उनले बताए ।
तर स्थानीय गंगबहादुर गुरुङको भने फरक अभिमत छ । भारतीय सेना बसेकाले सो ठाउँमा स्थानीय छोरीचेली हिडडुल गर्न डराउने गुरुङ बताउँछन् । ‘घाँसदाउरा गर्ने, घट्टामा जाने छोरीचेलीहरु डराएर अर्को बाटो हिड्थे’, उनी भन्छन्, ‘दलाई लामालाई खोज्दै चिनियाँ सेना आउला कि भनेर उनीहरु दलाइ लामाको सुरक्षा गर्न यहाँ बसेका हुन् भन्ने सुनिन्थ्यो । दलाई लामाको सेना(खम्पा)लाई सहयोग गर्न आएका हुन् भन्ने पनि सुनिन्थ्यो । तर खासमा किन बसेका हुन् भन्ने चाहिँ थाहा थिएन ।’ उनीहरुको क्याम्प २०२८ सालमा उठ्यो । त्यसपछि त्यहाँ वुद्ध प्रावि स्कूल खुल्यो ।




