
छोप्राकमा सिरानचोकको केन्द्र नराखेको भन्दै स्थानीयको बिरोध
सिरानचोक गाउँपालिकाको केन्द्र तत्कालका लागि वडा नम्बर ४ को छोप्राक स्थित साविककै ठाउँमा राख्न अदालतले दिएको आदेश पालना नगरेको भन्दै स्थानीयले सोमवार बिरोध र्याली सहित सभा गरेका छन् ।
गाउँ कार्यपालिका बैठकबाट वडा नम्बर ५ स्थित चित्रेपोखरीमा केन्द्र सार्ने निणर्य विरुद्ध अदालतमा रिट परेको थियो । अदालतले तत्कालका लागि पहिलेकै ठाउँबाट काम गर्नु भन्ने अन्तरिम आदेश दिएकाले कार्यालय छोप्राक ल्याउनुपर्ने माग स्थानीयको छ । गत असोज २७ गते सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो । तर अहिलेसम्म केन्द्र छोप्राक नल्याएको भन्दै स्थानीय असन्तुष्ट भएका हुन् ।
गाउँपालिका अध्यक्ष राजु गुरुङले पुरानै स्थानबाट सेवा दिइरहेको र चित्रेपोखरीमामा कार्यालय विस्तारमात्र गरिएको भनी सर्वोच्चलाई प्रतिउत्तर लेखी पठाएको भन्दै स्थानीयले असन्तुष्टी जनाएका छन् । वडा नम्बर ४ का अध्यक्ष दिपक हमालले अदालतलाई ढाँटेर अध्यक्षले आदेश बिपरित काम गरेको बताए । ‘स्थानीय बिरोधमा उत्रिएपछि मैले पनि हेरेँ, अध्यक्षको कुर्सी र नेमप्लेट छ, मान्छे छैनन, कहिल्यै देखिँदैन ।’ गाउँपालिका अध्यक्षले अदालतलाई ढाँटेर स्थानीयलाई दुःख दिएको उनले बताए । यससम्बन्धमा सर्वोच्च अदालतमा पुस ८ गते पेशी छ ।




