
सेनाले सडक ट्रर्याक खोल्दा ब्यवशायीको उठिबास
नेपाली सेनाले उत्तरी गोरखामा सडक ट्रर्याक खोल्ने क्रममा बिस्फोट गर्दा धार्चे १ दोभानमा होटल ब्यवसाय गर्दै आएका तेलबहादुर घलेको उठिबास भएको छ । ४५ लाख रुपैयाँको लगानीमा २०७४ सालदेखि सुरु गरेको होटल ध्वस्त भएको बारपाक सुलिकोट २ बारपाक घर भएका घलेले बताएका छन् ।
‘२४ प्रतिशत ब्याजदरमा ३० लाख रुपैयाँ ऋण लिएर होटल सुरु गरेको थिएँ’, उनले भने ‘नेपाली सेनाले सडक खोल्दा होटल ध्वस्त भयो ।’ पटक पटक होटलमा क्षति गरेको तर अझै पनि काम सम्पन्न नगरेकाले मर्मतसम्भार गरेर बस्न नपाएको उनको गुनासो छ ।
२०७५ असोज १४ गते नेपाली सेनाले होटल रहेको भन्दा पारितर्फको भीरमा बिस्फोट गराएको थियो । विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गाले घलेको होटलमा क्षति पुग्यो । त्यसपछि पटक-पटक सडकमा सेनाले बिस्फोट गरायो । हरेक पटक होटलमा क्षति भएपछि उनले ब्यापार ब्यवशाय छाडे । २०७५ मंसीरदेखि उनले ब्यापार गरेका छैनन् ।
‘टुरिस्ट आउने मुख्य सिजनमा होटल बन्द गर्नुपर्यो’ उनले भने । वार्षिक एक लाख भाडा तिरेर १५ वर्षका लागि सम्झौता गरेर होटल ब्यवशाय सुरु गरेको उनले बताए । ‘ब्यापार बन्द भयो, दुई वर्षदेखि भाडा तिर्न सकेको छैन’ उनले भने । मनास्लु पदमार्गमा जाने पर्यटकलाई लक्षित गरी होटल ब्यवशाय सुरु गरेको उनले बताए ।
विस्फोट गरेर छाडेपछि त्यहाँ सडकको थप काम नभएको भन्दै उनले दुखेसो गरे । ‘अझै विस्फोट गराउँदा क्षति हुने डरले मैले मर्मत गरेर होटल चलाउन पनि पाईन’ उनले भने ‘माथिमाथि बाटो बनाई रहेको छ तर त्यहाँ बनाएको छैन ।’
क्षतिपूर्ती माग्दै जिल्ला प्रशासन कार्यालय गोरखामा पनि निवेदन दिएको बताउँदै घलेले सेनालाई पटक पटक आग्रह गर्दा बेवास्था गरेको गुनासो गरे । ‘गाउँपालिकामा पनि जानकारी गराएको छु, गाउँपालिकाले सेनाले हो भन्छ, सेना प्रशासनले भन्छ, कतैबाट सहयोग पाइन’ उनले भने ।
नेपाली सेनाका मेजर बिनोद भट्टले समान्य क्षति भएकाहरुलाई जस्तापाता दिएर तत्काल सहयोग गरेको बताउँदै घलेको ठुलो क्षति भएकाले तत्काल सहयोग गर्न नसकिएको बताए । ‘क्षतिपूर्ती पाउनुहुन्छ, तर जिल्ला प्रशासन मार्फत क्षतिको मूल्याङ्कन गरेपछि हामीले सिफारिस गर्ने हो’ उनले भने ।
जिल्ला आयोजना कार्यन्वयन इकाई भबनका प्राविधिकले क्षतिको मूल्याङ्कन गरेर प्रशासनमा बुझाउँछन् । नेपाली सेना र गाउँपालिकाले सिफारिस गर्नुपर्ने मेजर भट्टले बताए । क्षतीपूर्ती कसले दिने, दिने नदिने भन्ने यकिन नहुँदा आफुले ब्यवशाय सुरु गर्न नसकेको पिडित ब्यवशायीको गुनासो छ ।




