| सोमवार, कार्तिक २३, २०८३

आफ्नो पार्टीको भनेर अपराध गर्नेहरुलाई संरक्षण नगरा


गोरखामा बालिका बलात्कारको घटना भयावह बन्दै गएको छ । बिगतबर्षभन्दा यसबर्ष बलात्कारको घटना यसै बढिरहेको छ, त्यसमध्य पनि बालिका बलात्कारको घटना अत्याधिक बढिरहेको छ ।

बलात्कार यसै जघन्य अपराध, झन बालिका बलात्कार अमानवीय, अक्षम्य दुर्घटना हो । यसलाई अन्त्य गर्नुपर्छ भन्नेमा सबैले जोड दिइ रहेको देखिन्छ तथापि न्यूनिकरणसमेत भएको देखिदैन ।
लैंगिक हिँसा, महिला हिँसासम्बन्धी कार्यक्रमहरुमा बलात्कारीलाई मृत्यूदण्ड दिनुपर्छ भनेर हुँकार गरिरहेका छन्, तथापि बलात्कारी प्रवृत्ति भएकाहरुमा यसले कत्तिपनि प्रभाव पारेको देखिदैन ।

गोरखामा ३३ हप्ताको बलात्कारको बच्चा बोकेर १४ बर्षकी बालिका भौँतारिरहेकी छन् । तर बिडम्बना, उनको बलात्कारी पक्राउ परेको छैन । भारतीय मुलको भएका कारण आफ्नो समस्यालाई प्रहरीले अवमूल्यन गरिरहेको पिडित बालिकाका बुबा बताउँछन् ।

यति ठूलो अपराधको घटना गोरखामै छ । यति अकल्पनीय पिडाको घटना गोरखामै छ तर गोरखामा कतै बिरोधका नारा सुनिदैन, बिरोधको जुलुश देखिदैन । तर सँधै उही असम्बन्धित स्रोताले भरिएका हलहरुमा असम्बन्धित क्षेत्रका बलात्कारको घटना बिरुद्धका गर्जनहरु सुनिन्छ ।

गोरखामा अधिकारकर्मी नभएका होइनन् । महिला अधिकारवादी संस्थाहरु पनि छन् । महिला अधिकारकर्मी पनि नभएका होइनन । उनीहरु बिगत बर्षौँदेखि आफूले देखेको दुर्घटनाको बिरुद्धभन्दा ‘माथि’बाट निर्देशित घटनाका विरुद्धमा मात्र बोल्छन् ।

किन यतिधेरै परनिर्भर छन्, किन यतिधेरै परिचालित छन्, किन स्वचालित हुनसक्दैनन् ? सोचनीय बिषय छ । कि पिडित र पिडक कुन कुन पार्टीका हुन् भनेर लेखाजोखा त भइरहेको छैन ? यदि यस्तो हो भने यो अति दुखद हुनेछ ।
हिँसा गर्ने, अपराध गर्नेलाई कहिल्यै आफ्नो पार्टीको भनेर संरक्षण नगरौँ ।

प्रतिक्रिया दिनुहोस्