
बारपाकसुलीकोटको खानीखोलामा १४ वटा पोखरीमा माछापालन
बारपाक सुलीकोट वडा नं. ६ को खानीखोला किनारमा सुलीकोट एग्रोफर्मले १४ वटा पोखरी निर्माण गरेर माछापालन गरेको छ । स्थानीय राजेन्द्र श्रेष्ठ र टंक सारु मगरको सहलगानीमा माछापालन गरिएको हो ।
दुईजनाको १६ लाख रुपैयाँको सहलगानीमा बिगत डेढबर्षदेखि माछापालन गरिएको सञ्चालक मध्येका राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार माछापालनका लागि गण्डकी प्रदेश सरकारले छ लाख रुपैयाँ अनुदान सहयोग गरेको छ ।
पोखरीमा प्रत्येक पटक ३५ देखि ४० हजारवटा भुरा राख्ने गरिएको श्रेष्ठले बताए । ‘हामीसंग १८ वटा पोखरी छ । त्यसमध्य १४ वटामा माछा राखेका छौं, चार वटामा राखिएको छैन’, उनले भने, ‘पहिले नयनी जातको माछा थियो, अहिले कमनकार्प जातको माछा राखेका छौं । अहिलेसम्म पाल्खु बजार, ढोडेनी, बालुवा, स्वाँरा, सौरपानी, घ्याम्पेशाल, देउराली बजारमा माछा खपत हुने गरेको छ । अब पछि गोरखा बजार, बारपाक बजारसम्म पनि पठाउने लक्ष्य छ ।’
बिगत १० बर्ष काठमाडौँमा व्यवसाय गरेर गाउँमा फर्केको उनले बताए । ‘म त १० बर्ष काठमाडौँमा व्यवसाय गरेर भूकम्पपछि गाउँमा केही गर्नुपर्छ भनेर यता आएको हुँ’, श्रेष्ठले भने, ‘पहिले पनि गाउँमै बाख्रा, कुखुरा पालेको थिएँ । अहिले यहाँ पनि माछा मात्र होइन, बाख्रा, कुखुरा, बङ्गुर, पाडा पाल्ने लक्ष्य छ ।’ ठाडो खोलाले संरचना बगाएर दुख दिने गरेको उनले बताए ।
आफ्नो गाउँपालिकालाई माछामा आत्मनिर्भर बनाउनका लागि माछापालन व्यवसायलाई प्रवद्र्धन गर्ने कार्यक्रम राखेको गाउँपालिकाका पशुसेवा शाखाले जनाएको छ ।
‘पहिलो बर्ष हामीले २० जना माछापालक किसानलाई प्रति पोखरी १० हजार रुपैयाँका दरले अनुदान दिएका थियौं’, शाखाका अमृत पोखरेलले भने, ‘त्यही कार्यक्रमलाई निरन्तरता दिदै यसबर्ष पनि माछापोखरी सुधार कार्यक्रमका लागि बजेट बिनियोजन गरेका छौं ।’ बारपाक सुलीकोटभरि सात ठाउँमा माछापालन व्यवसाय सञ्चालन भइरहेको उनले बताए




