
‘बैदेशिक रोजगारीलाई सुरक्षित सिप र चेतनामा जोड दिनुपर्छ’
बैदेशिक रोजगारीमा जानेहरुलाई सिप सिकाएर पठाउन सके मात्रै बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन सकिने गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् ।
एकीकरण नेपालको साझेदारीमा गोरखामा संचालित सामी परियोजना अन्तर्गत २१ औँ अन्तराष्र्टि«य आप्रवासी दिबसको अवसरमा आयोजित कार्यक्रममा सहभागीले चेतनाको पनि उतिकै जरुरी रहेको बताए ।
‘बैदेशिक रोजगारमा जानेहरुलाई सचेतना जगाउन महत्वपूर्ण कुरा हो’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘स्थानीय सरकारको स्रोतले मात्रै समस्या समाधान गर्न सकिने अवस्था छैन, संघीय र प्रदेश सरकारले पनि कार्यक्रम बनाउनुपर्छ ।’ अहिले बैदेशिक सँगै कोभिडका कारण नेपाल भित्रै रोजगारी गुमाएकाहरुलाई समस्या परेको उनले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङले आर्थिक अवस्था कमजोर भएका, शिक्षाको कमी रहेकाहरु बिना सिप जाँदा जोखिम धेरै भएको बताउँदै सबै तह मिलेर सिपमुलक तालिमसँगै शिक्षा प्रदान गर्नुपर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले सरकारले वर्षेनी बैदेशिक रोजगारीका लागि जाने चार लाख नेपालीलाई स्वदेशमै रोजगारी दिने योजना बनाउनुपर्ने बताए । ‘सिप नजाने मानिस धेरै खाडी मुलुकमा रोजगारी गर्न गएका हुन्छन्, उनीहरुलाई रोक्न स्वदेशमै रोजगारी सिर्जना गर्न सक्नुपर्छ’ उनले भने ।
एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देबकोटाले गोरखा नगरपालिका, पालुङटार नगरपालिका, शहिदलखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिकामा परियोजना संचालन गरेको बताए । अहिलेसम्म जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रबासी स्रोत केन्द्रबाट छ सय २७ जनालाई सुचना दिईएको जानकारी गराए ।
परियोजना लागु भएका चार वटा पालिकामा १६ वटा बित्तिय साक्षरता कक्षा संचालन गरिएको छ । बैदेशिक रोजगारीमा जानेहरुलाई सुरक्षित रुपमा जान सुचना दिने, फर्केर आएकाहरुलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्ने बाटो देखाउने, बिदेशबाट आएको रेमिट्यान्सको सहि सदुपयोग गर्ने खालका कार्यक्रम बारे जानकारी गराईने परियोजना अधिकृत चन्द्र देवकोटाले बताए ।
कार्यक्रममा प्रहरी प्रमुख सुरेन्द्र गुरुङ, वडा अध्यक्षहरु, उपप्रमुखहरु, गैरसरकारी संस्था, नागरिक समाजका प्रतिनिधि लगायतले धारणा राखेका थिए । सामी परियोजना संचालन भएयता गोरखामा भएगरेका गतिविधीको बारेमा पनि एकिकरण नेपालले जानकारी गराएको थियो । गोरखा जिल्लाबाट पाँच हजार दुई सय भन्दाबढि मानि बैदेशिक रोजगारीका लागि गएका छन् । यी मध्ये ७० प्रतिशत बिना ज्ञान सिप गएको राष्ट्रिय तथ्याङ्कले देखाउँछन् ।




