| सोमवार, कार्तिक २३, २०८३

मंगोल नेशनल अर्गनाइजेशन तेस्रो अधिवेशनको तयारीमा

आउँदो पुसको १६ गते तेस्रो जिल्ला अधिवेशन गर्ने तयारीस्वरुप मङ्गोल नेशनल अर्गनाइजेशनले संगठन सुदृढी करण तथा घरदैलो अभियान सञ्चालन गरिरहेको छ । लोकतन्त्र, धर्मनिरपेक्षता र प्रान्तीय सरकार मूल एजेण्डाका साथ गठित सो अर्गनाइजेशनले अहिलेसम्म पाँचवटा पालिकामा पालिकास्तरको कमिटी गठन गरिसकेको जिल्ला अध्यक्ष गंगाबहादुर राना मगरले जानकारी दिए ।
‘गोरखा नगरपालिका, पालुङटार नगरपालिका, गण्डकी गाउँपालिका, बारपाक सुलीकोट गाउँपालिका र शहीदलखन गाउँपालिकामा हाम्रो समिति सक्रिय छ’, उनले भने, ‘अब ११ वटै पालिकामा कमिटी गठनको अभियानमा लागिरहेका छौं ।’

उनका अनुसार गोरखा नगरपालिकामा दिनेश थापा मगर(तीनकिलो)को संयोजकत्वमा समिति गठन छ । त्यस्तै पालुङटार नगरपालिकाको संयोजकमा रिङ्चेन लामा(वडा नं. ९), गण्डकी गाउँपालिकाको संयोजकमा सुमित थापा(सानो दर्वुङ), बारपाक सुलीकोट गाउँपालिकाका संयोजकमा तुलबहादुर तामाङ(खारचोक) र शहीद लखन गाउँपालिकाको संयोजकमा प्रेमबहादुर गुरुङ(सिलिङ ग्याजा) रहेका छन् ।

प्रत्येक पालिकामा ११ जनादेखि ३५ जनासम्म सदस्य रहेको कमिटी गठन भएको छ । आउँदो १६ गते हुने जिल्ला अधिवेशनले ५१ सदस्य जिल्ला समिति गठन गर्ने अध्यक्ष राना मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्