ताइवानीलाई अवैध गतिविधिमा टेवा दिने को ?
ताइवानबाट नेपाल आएका ५६ बर्षका हङमिङ हङ बिगत लामो समयदेखि गोरखामा छन् । उनी गोरखा नगरपालिका ७ रोहटेपानीको नेपाल मगर संघको कार्यालय भवनको माथिल्लो तलामा बसेको दुई महिना भन्दा बढि भएको छ ।
केही महिनाअघिसम्म त्यहाँ उनका अरु साथी बस्थे । उनीहरु धर्म प्रचार गर्थे, चिनियाँ भाषा सिकाउँथे । उनीहरुको अवैध गतिविधि थाहा पाएपछि प्रशासन कार्यालयले जिल्ला छाड्न निर्देशन दिएको थियो । निर्देशनपछि उनीहरुले जिल्ला छाडे ।
फेरि दोहोर्याएर आए । प्रशासनले थाहा पायो । फेरि निश्काशन गर्यो ।
तर दुई महिना जति भयो फेरि उनका गुरु गोरखा आएका छन् । उनले पनि अहिले उही अवैध धन्दा गरिरहेका छन् । उनी पनि चिनियाँ भाषा पढाउन, धर्म प्रचार गर्न थालेका छन् । बिजनेस भिसामा आउने तर धर्म प्रचार गर्ने यो उनको हेपाहा प्रवृत्ति हो । नेपालको, जिल्ला प्रशासनको कमजोरीमाथि प्रहार हो ।
अवैध गतिविधि निषेध गरेर दुईपटकसम्म फिर्ता पठाइसकेपछि फेरि फर्केर आउने, फेरि उही काम दोहोर्याउने, नेपालको ऐन, कानून विपरीत काम गर्ने, त्यस्ता काम ऐन नियम बिपरीत हो भन्ने थाहा नपाए जस्तो गर्ने, यस्तै गतिविधिलाई निरन्तरता दिनु हेपाहा प्रवृत्ति हो, लापार्बाही हो । उनीहरुको हेपाहा प्रवृत्तिलाई यहाँ कतिपय व्यक्तिगत, संस्थागत रुपमा टेवा दिने काम भइरहेको छ ।
त्यो राष्टूविरोधी, राष्ट्रिय स्वाभिमान विरोधी काम हो ।
त्यसैले उनीलाई राम्ररी कुरा बुझाउनु पर्छ । बारम्बार गल्ती दोहोर्याए नियन्त्रणमा लिएर नियम, कानून अनुसार कारबाही गर्नुपर्छ ।




