
नदीजन्य पदार्थको चोरी निकासी गर्ने ४० वटा सवारीलाई ८ लाख ६६ हजार जरिवाना
स्थानीय तहहरुले नदीजन्य पदार्थको उत्खनन अनुमती नदिएको मौका छोपेर नदी, खोलाबाट अवैध उत्खनन गरी ढुङ्गा, बालुवा चोरी निकासी गर्ने क्रम गोरखामा बढेको छ । कुनैपनि पालिकाले नदी खोला, घाट, खानीबाट उत्खनन गर्न अनुमती दिएका छैनन् तर अधिकासं ठाउँमा अवैध उत्खनन भईरहेको छ ।
साउन यता अवैध रुपमा नदीजन्य सामग्री ढुवानी गरेका ४० वटा ढुवानीका साधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘हामीले मातहतका सबै चौकीलाई अवैध रुपमा भएको उत्खनन रोक्न भनेका छौँ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुरेन्द्र गुरुङले भने ‘अवैध उत्खनन गरेर ढुवानी गरेका सवारी साधन पक्राउ गर्दै संम्बन्धित स्थानीय तहलाई बुझाएका छौँ ।’
चालु वर्षको साउन यता पाँच महिनामा प्रहरीले गोरखा नगरपालिका भित्रबाट ३१ वटा अवैध उत्खनन गरीएका नदीजन्य सामग्री ढुवानी गर्दै गरेको सवारीलाई नियन्त्रणमा लिएको छ । ती साधनलाई नगरपालिकाले छ लाख २० हजार जरिवाना लगाएको छ । सबैजसो ट्याक्टर रहेको र प्रति ट्याक्टर २० हजार जरिवाना गरिएको गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश राज पन्तले बताए ।
शहिदलखन गाउँपालिका भित्रबाट छ वटा सवारी साधन नियन्त्रणमा लिएर गाउँपालिकालाई बुझाएको प्रहरीले जनाएको छ । ति मध्ये पाँचवटा ट्रिपर लाई प्रति ट्रिपर ४० हजार पाँच सय र एउटा ट्याक्टरलाई २० हजार गरी दुई लाख २० हजार पाँच सय रुपैयाँ जरिवाना गरेको गाउँपालिकाले जनाएको छ ।
सिरानचोक गाउँपालिका क्षेत्रबाट नियन्त्रणमा लिइएका तीनवटा ट्याक्टरलाई गाउँपालिकाले प्रति ट्याक्टर आठ हजार जरिवाना लगाएको छ । प्रहरी चौकी बाह्रकिलो, बुङ्कोट, मझुवा, लक्ष्मीबजार लगायत ठाउँबाट अधिकासं सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । ‘रातको समयमा नियन्त्रणमा लिइएको धेरै छ’ एसपी गुरुङले भने ‘प्रहरी र स्थानीय निकायको आँखा कान छलेर चोरी गर्न खोज्नेमाथि निग्रानी बढाएका छौँ ।’




