| आइतवार, कार्तिक २२, २०८३

आर्खेत खोलामा पक्की पुल शिलान्यास

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने गरी आर्खेत खोलामा पक्की पुल निर्माण हुने भएको छ । उक्त पुलको शनिवार एक कार्यक्रमका बिच गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले शिलान्यास गरेका छन् । पूर्वाधार बिकास कार्यालय गोरखाले पाँच करोड ६५ लाख लगानीमा पुल निर्माण गर्न लागेको हो ।

यस अघि आर्खेत खोलामा काठे पुलबाट पैदल हिड्नेहरु आउजाउ गर्थे भने सवारी साधन खोलाबाटै गुड्र्दै आएको छ । बर्खाको समयमा खोलामा पुल नभएका कारण सडक अवरुद्ध हुने स्थानीय बताउँछन् । पुल शिलान्यास गर्दै मन्त्री बस्नेतले त्यस क्षेत्रका सर्वसाधारणलाई सहज हुने बताए ।

साथै उनले उक्त सडक उत्तरी गोरखाको मनास्लु क्षेत्र जोड्ने सडक भएकाले पदमार्गमा जानेहरु, उत्तरी गोरखाका सर्वसाधारण लगायतलाई आउजाउ गर्न, उपभोग्य सामग्री ढुवानी गर्न सहज हुने बताए । साथै तिब्बत सँग सडक सञ्जाल जोड्ने महत्वपूणर् मार्ग उक्त सडक रहेको बताए ।

दुई वर्ष भित्र पुल निर्माण सक्ने गरी बानियाँ सुर्य बिनायक जेभीले ठेक्का सम्झौता गरेको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ । कोभिड १९ को प्रभावका कारण सम्झौता भएको केही महिना ढिला गरी पुल शिलान्यास भएको निर्माण कम्पनीले जनाएको छ ।

शनिवार नै मन्त्री बस्नेतले वडा नम्बर ३ को स्यामराङ र देउराली जोड्ने झोलुङ्गे पुलको पनि शिलान्यास गरेका छन् । उक्त पुल तीन सय ४६ मिटर लामो छ भने लागत दुई करोड १० लाख रहेको पूर्वाधार बिकास कार्यालयका इन्जिनियर गणेश सुबेदीले बताए ।

मन्त्री बस्नेतल सोही वडाको थुमी निबोट झोलुङ्गे पुलको पनि शनिवार शिलान्यास गरेका छन् । दुई करोड ६० लाख लागतमा निर्माण हुन लागेको उक्त पुल तीन सय ७८ मिटर लामो छ । उक्त पुल गोरखामा निर्माण भएका झोलुङ्गे पुलहरु मध्ये लामो हो ।

यी दुबै १८ महिना भित्र सिध्याउने गरी पुल एस.ए-शैलेन्द्र जेभीले निर्माणको जिम्मा लिएका छन् । गत वर्ष सुरु हुनुपर्ने पुल निर्माणको योजना ढिला गरी यो वर्ष सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्