| सोमवार, कार्तिक २३, २०८३

काठमाडौं महानगरपालिकामा धुलोबाट इँटा बनाउँदै

काठमाडौं महानगरपालिकाले ब्रुमर सङ्कलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ। कामपाले झण्डै दुई वर्षदेखि सडकमा ब्रुमरको सहायताले धुलो सङ्कलन गरी सडक सफा गर्ने काम गरिरहेको छ। हालसम्म करीब छ हजार ५०० टन धुलो जम्मा भइसकेको छ।  

यसरी जम्मा गरिएको धुलो व्यवस्थापन गर्न समस्या भएको र उपयोग गर्न सकिने भएकाले इँटा बनाउनेबारे सम्बन्धित व्यक्तिसँग कामपाले छलफल गर्न थालेको छ। हाल यसरी सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ।  

कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार अहिले निर्माणका विषयमा छलफल र स्थान पहिचानको कुरा भइरहेको छ। कामपाले हरेक दिन सात बु्रमरले सडक सफा गर्ने काम गरिरहेको छ। महानगरले सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो।  

विसं २०७५ फागुन २८ गते इटालीबाट १० करोड ८० लाख रुपैयाँमा ल्याइएका उक्त बु्रमर सञ्चालनका लागि कामपाले पाँच मार्ग निर्धारण गरेको छ। सोही मार्गअनुरुप काम भइरहेको छ। पानी पर्ने समयमा काम गर्न समस्या भए पनि अन्य समयमा भने काम नियमित भइरहेको कामपाको भनाइ छ।      

सडकका मुख्य स्थान नयाँसडक, रत्नपार्क, जमल, कालीमाटी, कलङ्की, पुतलीसडक, बिजुलीबजारलगायत स्थानमा खाल्डाखुल्डी रहेकाले महानगरले सडक विभागसँग पुर्न आग्रह गरेको छ। यसअघि विशिष्ट व्यक्तिको आवतजावत भएका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरबाट सडक सफा गरिँदै आएको थियो। महानगरसँग यसअघि रहेको एक ब्रुमर पनि काम गर्न नमिल्ने अवस्थामा छ। उक्त यन्त्रले पानी नपरेका दिन साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म सडक सफा गर्दै आएको छ।

दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्न सक्ने क्षमताका पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताका छन्। यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीच र पछाडि भागका दायाँबायाँ प्लाष्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन्। कानूनीरुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र महानगरको जिम्मेवारीमा पर्छन् भने अरु सडक विभागको मातहतमा छ।

प्रतिक्रिया दिनुहोस्