| आइतवार, कार्तिक २२, २०८३

बूढीगण्डकी जलविद्युत आयोजनामा जारी धर्नाको समापन

बिभिन्न मागसहित एकसातादेखि आन्दोलनरत बूढीगण्डकी जलबिद्युत आयोजना प्रभावित हरुको धर्ना कार्यक्रम बुधबार समापन गरिएको छ ।

सिउरेनीटारस्थित आयोजनाको कार्यालयमा सप्ताहव्यापी धर्ना कार्यक्रमको बुधवार औपचारिक रुपमा सम्पन्न गरिएको बूढीगण्डकी जलबिद्युत आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले जानकारी दिए ।

आयोजनाको मोडालिटीको तत्काल टुङ्गो लगाएर निर्माण कार्य सुरु गर्नुपर्ने, घरगोठ, फलपूmल तथा बोटविरुवाको मुआब्जाको कर छुट गर्नुपर्ने, मुआव्जामा भएको विभेद अन्त्य गरी न्यायोचित वितरण हुनुपर्ने लगायतका माग राख्दै सरोकार समितिको अगुवाइमा गत मंसिर १७ गतेबाट धर्ना कार्यक्रम शुरु भएको थियो ।

बुधवार प्रतिनिधि सभाका सांसद हरिराज अधिकारी र प्रदेश सभाका सांसद हरिशरण आचार्यको उपस्थितिमा धर्ना कार्यक्रमको समापन गरिएको हो ।

कार्यक्रममा बोल्दै सांसदहरुले माग पूरा गर्नका लागि आफूहरु निरन्तर लागिरहेको भन्दै स्थानीयबासीसँग एकाकार भएर भावी दिनमा पनि आवश्यक पहल गर्ने बताएका छन् ।

यो चरणको आन्दोलन समापन भए पनि मागहरु पूरा नभएसम्म काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने प्रभावितहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्