
भ्रष्टाचारको जालो दिनानुदिन बढ्दै गएकोमा नागरिक समाजको चिन्ता
स्थानीय तहले गर्दै आएका आम्दानी तथा खर्च पारदर्शी नभएको भन्दै पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले सोको विवरण पालिकाहरुले नियमित चौमासिक रुपमा सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् ।
चालु आर्थिक बर्षको पाँच महिना बितिसक्दा पनि गोरखाका ११ वटामध्य एउटाबाहेक अहिलेसम्म अरु पालिकाले चौमासिक प्रगति समीक्षा गरेका छैनन् ।
अन्तराष्ट्रिय भ्रष्टाचार बिरुद्धको दिवसको अवसरमा बुधबार सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै उनले स्थानीय तहमा बेरुजु रकम बढी देखिनु एक प्रकारको भ्रष्टाचार भएको उनको दाबी गरे ।
नागरिक साझा सवाल गोरखाको आयोजनामा सम्पन्न भ्रष्टाचार न्यूनिकरणमा नागरिक समाज र संचार माध्यमको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मानव अधिकार सञ्जालका अध्यक्ष यदु अधिकारीले देशमा भ्रष्टाचार मौलाउदै गएपनि सरकारले नियन्त्रण गर्न नसकेको आरोप लगाए ।
नेपाल वार एसोशियसनका जिल्ला अध्यक्ष यादव शर्माले शिक्षा र स्वास्थ्य सेवा निशुल्क नभएसम्म भ्रष्टाचार न्यूनिकरण नहुने तर्क राखे ।
नीति नियम कार्यान्वयनको पाटो फितलो भएकाले भ्रष्टाचार नियन्त्रण हुन नसकेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराइको भनाइ थियो । भ्रष्टाचार न्यूनिकरणका लागि नीतिगत व्यवस्था स्पष्ट र सशक्त हुनुपर्ने उनको भनाइ थियो ।
गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले संघ, प्रदेश र स्थानीय तहमा आवश्यकता अनुसार कानून बन्न नसक्दा भ्रष्टाचार बढेको बताए । भागवण्डाका आधारमा सार्वजनिक पदमा नियुक्ती हुने प्रवृत्तिका कारण पनि भ्रष्टाचार मौलाएको उनको भनाइ छ ।
नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडीको अध्यक्षतामा कार्यक्रम भएको हो ।




