
गोरखनाथ र गोरखकाली मन्दिर पनि आइतबारदेखि खुल्ने
पशुपतिनाथ तथा मनकामना मन्दिर खुलाउने निणर्य धमाधम भएसँगै गोरखाको गोरखनाथ र गोरखकाली मन्दिर खुलाउन पनि प्रयास भएको छ ।
गोरखा नगरपालिकाको बुधबार सम्पन्न कार्यपालिका बैठकले एकैठाउँमा रहेका यी दुई मन्दिर खुलाउने निणर्य गरेको छ । बैठकले यी दुवै मन्दिर खुलाउन जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन केन्द्र(सिसिएमसी) समक्ष अनुरोध गर्ने निणर्य गरेको नगरपालिकाले जनाएको छ ।
मनकामना मन्दिर, गोरखनाथ र गोरखकाली मन्दिर खुलाउने अनुमतिका लागि पत्र प्राप्त भएको बताउँदै प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बिहिबार सिसिएमसीको बैठक बसी निणर्य गर्ने जानकारी दिए ।
यसअघि गत चैत ११ गते लकडाउन भएसँगै यी मन्दिरहरु बन्द भएका थिए । लकडाउन, बजार तथा अन्य सबै निकाय खुले पनि मन्दिरहरु भने खुलेका थिएनन् ।
यसअघि गत मंगलबारको सर्वपक्षीय बैठकले मनकामना मन्दिर खुलाउने निणर्य गरेको थियो ।




