| सोमवार, कार्तिक २३, २०८३

घर झगडाले दुनियाँ हँसाउनु वुद्धिमानी होइन

भनिन्छ, जीवन्त पार्टीमा अन्तरसंघर्ष भइरहन्छ ।
दुईतिहाईमा रहेर सरकार सञ्चालन गरिरहेको नेकपाको केन्द्र तहमा अहिले दिनहूँजसो दुईलाइन संघर्षको किचलो भइरहेको छ ।

दुई अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्ड गुटमा हुने गरेको दुईलाइन संघर्षको बिषयले अहिले देशमा निकै चर्चा पाएको छ ।

केन्द्रमा भएको दुई लाइन संघर्षको प्रतिविम्ब जिल्ला तहमा पनि प्रष्ट रुपमा आएको छ । जिल्ला तहका कार्यकर्ताहरुले अहिले अन्तरसंघर्षका कारण उत्पन्न आवेग सामाजिक सञ्जलमा पोखेर रङ्गाइरहेका छन् ।

कतिपयले निक्कै आक्रोशपूणर् ढंगले तुच्छ शव्द समेत प्रयोग गरेका छन्, कतिपयले सँधै यसरी आन्तरिक विवादमा रहनुभन्दा बरु पार्टी फुटोस् भनेका छन्, कतिपयले बिघटन होओस् भनेका छन्, कतिपयले आ-आफ्नै बाटो लागौँ भनेका छन् ।

कतिपयले बिगतदेखि हुदै आएका नकारात्मक पक्ष समेटेर आरोप प्रत्यारोप गरेका छन् । कतिपयले भने सामाजिक सञ्जाललाई दुरुपयोग गरी पार्टीलाई प्रतिपक्षी सामु रमिता नबनाउन आग्रह पनि गरिरहेका छन् ।

पार्टी एकीकरण हुँदा प्रमुख प्रतिपक्ष काङ्ग्रेसलाई पत्तासाफ पार्ने उद्घोष गरेका दुवै नेताहरु अहिले परस्पर बाझाबाझ गरेर लामा लामा आरोप पत्र आदानप्रदान गरिरहेका छन् ।

दिनहूँ बेमेलका घटनाहरु सुनिरहँदा कार्यकर्तातह निरुत्साहित हुनु स्वभाविकै हो । त्यसैले कार्यकर्ताहरुले आफ्नो आवेग, आक्रोश, रोष पोख्ने माध्यम सामाजिक सञ्जाललाई बनाएका छन् ।
कार्यकर्ताले सामाजिक सञ्जालमा आक्रोश पोखेर नेताहरु सुध्रिने होइनन् । बरु यसले दुनियाँ हसाउने काम मात्र हुन्छ ।

त्यसैले पार्टीका इमान्दार कार्यकर्ताले पार्टीको गतिविधिप्रति चित्त नबुझे पनि धैर्य गरी पार्टीभित्रको अन्तरसंघर्षलाई आफूभित्रै समन गर्नु वुद्धिमानी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्