
बारपाक सुलीकोटमा उद्यम गर्न चाहनेलाई ८० प्रतिशत व्याज मिनाहा
बारपाक सुलीकोट गाउँपालिकाले स्वरोजगार गर्न चाहने पालिकाबासीलाई कृषि ऋणमा ८० प्रतिशत व्याज अनुदान दिने भएको छ । मंगलबार सूचना जारी गर्दै पालिकाले स्वरोजगार गर्न चाहने किसानलाई गाउँपालिका अध्यक्ष गरिवी निवारण कार्यक्रम अन्तर्गतको सुविधा लिनका लागि आवेदन दिन आग्रह गरेको छ ।
‘यस गाउँपालिकाभित्र कृषि व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न तथा रोजगार सिर्जना गर्न इच्छुक व्यक्ति, संस्था, समूहले प्रस्ताव पेश गर्न सूचित गरिएको छ’, सो सूचनामा भनिएको छ, ‘छनौट भएका व्यवसायीलाई ग्लोबल आइएमई वैँकबाट लिएको कृषि ऋणको व्याजमा ८० प्रतिशत अनुदान दिइनेछ ।’
छनौटमा परेका किसानलाई दुईलाख देखि १० लाख रुपैयाँसम्मको कृषि ऋणमा १२.५ प्रतिशत व्याजदरमध्य पालिकाले ८० प्रतिशत अनुदान दिने व्यवस्था छ । जसका लागि वैँकसँग मंगलबार सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।
व्याज सहुलियतको कृषि ऋण लिई व्यवसाय सञ्चालन गर्न इच्छुक किसानले वडा कार्यालयको सिफारिस, व्यवसाय दर्ताको प्रमाणपत्र, व्यवसाय सञ्चालनको प्रस्ताव पत्र, बिमा सम्बन्धी कागजपत्र लगायतका कागजपत्र निवेदनको साथमा पेश गर्नुपर्ने प्रावधान छ ।




