
डेढबर्षदेखि रोकिएको जडिबुटी संकलन अनुमति खुल्यो
बिगत डेढ वर्षदेखि अवरुद्ध जडिवुटी संकलनको अनुमति पुर्जी यसवर्ष खुलेको छ । सरकारद्वारा व्यवस्थापन भएको वनको जडिबुटी संकलन पुर्जी जारी गर्न गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट अनुमति प्राप्त भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
‘सरकारद्वारा व्यवस्थापन गरिएको वनबाट जडिबुटी लगायतका वनपैदावारहरु संकलन तथा ओसारपसार गर्नका लागि डिभिजन वन कार्यालय गोरखाको पञ्चवर्षीय वन व्यवस्थापन कार्ययोजना मन्त्री परिषदको गत १८ गतेको निणर्यबाट स्वीकृत भएको छ’, वन कार्यालयका सूचना अधिकारी महेश पौडेलले भने, ‘अव डिभिजन वन कार्यालय गोरखाबाट नियमानुसार लाग्ने राजस्व तिरेर संकलक(व्यवसायी)ले जडिबुटी तथा वनपैदावार संकलन गर्न सक्नेछन् ।’ यसअघि सामुदायिक वनले कार्ययोजनामा राखेर मात्र जडिबुटी संकलन गर्न पुर्जी लिन पाउने व्यवस्था थियो ।
वैध तरिकाले जडिबुटी संकलन तथा डिभिजन बन कार्यालयले संकलन पूर्जी नदिँदा कतिपय जडिवुटी जंगलमै सडेको थियो भने कतिपय ठाउँमा अवैध रुपमा संकलन र ओसारपसार समेत भएको थियो । डेढबर्षदेखि कार्ययोजना स्वीकृति हुन नसकेपछि सङ्कलन तथा ओसारपसार गर्ने अनुमतिका लागि वन कार्यालयमा आएका संकलक तथा व्यवसायी निराश भएर फर्कने गरेका डिभिजनल वन अधिकृत अशोक श्रेष्ठले बताए ।
‘पञ्चबर्षीय कार्ययोजना कहिले स्वीकृत हुन्छ, कहिले खुल्छ भन्ने प्रतिक्षामा थियौँ’, उनले भने, ‘अब खुलेको छ । अव विधिवत रुपमा आउने किसानलाई हामी पुर्जी दिन सक्छौँ ।’ गोरखाको सामुदायिक तथा सरकारद्वारा व्यवस्थित गरिएको वनमा व्यवसायीहरुले वन लसुन, चिराईतो, सतुवा, कालोमसुली, जटामसी, पाँचऔँले, यार्सागुम्बा लगायतका जडिबुटीका लागि अनुमति लिने गरेका छन् ।
आर्थिक वर्ष २०७५/०७६ मा जडिवुटी ८० जना व्यवासयीले संकलनका लागि अनुमति लिएका थिए । उनीहरुबाट तीनलाख ९४ हजार ९२ रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी पौडेलले बताए ।




