| सोमवार, कार्तिक २३, २०८३

१० किलोमा अमेरिका नेपाल भर्चुअल बिहे

मितिः २०७७ मङ्सीर २१ गते
समयः बिहान १० बजे
कोरोनाको भयाबह समय विद्यमान थियो । गोरखा नगरपालिका १२ दसकिलो बजारका रुद्र सेढाईको घरको छतमा बिहेको जग्गे लगाइएको थियो ।
जग्गेमा पुरोहित विष्णु उप्रेतीले भने बमोजिम रुद्र सेढाईँका दाजु रामचन्द्र सेढाईँ कर्ता भएर काम गरिरहेका थिए । रुद्र र शान्ता सेढाईँका दम्पत्ति आवश्यक व्यवस्था मिलाउनमै व्यस्त थिए । जसको बिहे थियो, उनी भने जग्गेमा थिएनन् ।
पुरोहित उप्रेतीले मन्त्र पढ्दै, भाञ्जा हरिराम पन्तले चरु होमि रहेका थिए । छतमा करिब १० जना पाहुनापाच्छा आ-आफ्नै धुनमा थिए । कोही भोजभतेर तयार गर्दै, कोही जग्गेमा आवश्यक सामान जुटाउँदै थिए ।


छतको एउटा छेउमा कुर्ची राखिएको थियो । कुर्चीमा एउटा मोबाइल भिडियो च्याट अन गरेर राखिएको थियो । भिडियो च्याटमा जोडिएका थिए, बिगत छ बर्षदेखि अमेरिकाको मेरिल्याण्ड, बाल्टिमोरमा रहेका सुशील सेढाईँ ।


उनै सेढाईँ र काठमाडौं जोरपाटी निवासी पशुपतिप्रसाद न्यौपानेकी छोरी जोशिका न्यौपानेको बिहेको ग्रहशान्तिको दृश्य थियो यो । उनीहरु मेरिल्याण्डमै बसेर ग्रहशान्तिको दृश्य हेरिरहेका थिए । पाहुनापाच्छा बेलाबेला मोबाइल उठाएर दुल्हासित संक्षिप्त कुराकानी गर्थे ।
‘यतिबेला यहाँ राती एक बजेको छ । आधा रातमा भएपनि ननिदाई आफ्नो बिहे मोबाइलको स्क्रिनमा हेरिरहेको छु’, सेढाईँले भिडियो च्याटबाटै भने, ‘रमाइलो लागि रहेको छ ।’
एउटै सहरमा बस्दै आएका उनीहरुको दुईबर्षअघि परिचय भएको थियो । नेपाल फर्केर बिहे गर्ने तयारी गर्दागर्दै कोभिड १९ को महामारी फैलियो । परम्परागत विधिविधान पूरा गरेर मात्र बिहे गर्ने सहमति भएकाले भर्चुअल विधिबाटै भएपनि विधि पूरा गरिएको सुशीलका बुबा रुद्र सेढाईँले जानकारी दिए ।

‘दुवै जना एउटै सहरमा बस्ने, चिनापर्ची पनि भएको, बिहे गर्ने समझदारी पनि भएको थियो । तर कोरोनाले गर्दा नेपाल आउन दिएन । त्यसैले भर्चुअल विधिबाट भएपनि मानिआएको रीतिथिति अनुसारै बिहे गर्ने भन्ने कुरा मिल्यो अनि विधिविधान पुर्‍याइएको हो’, उनले भने, ‘कोरोनाको डरले धेरै पाहुनालाई निमन्त्रणा गर्न पनि सकिएन । एउटै घरका दाजुभाइ, दिदी बहिनी मात्र भेला भएर प्रक्रिया पूरा गरियो ।’

दुल्हा पक्षले गर्ने विधिविधान आइतबार यहाँ पूरा गरिएको थियो भने दुल्हा दुलहीको घरमा गएर पुर्‍याउनु पर्ने विधि सोमबार पुर्‍याइएको उनले बताए ।
सेढाई अमेरिकामा सूचना प्रविधिसम्बन्धी इञ्जिनियर हुन् ।

प्रतिक्रिया दिनुहोस्