
बारपाक सुलीकोट गाउँपालिकामा महिला हिंसा विरुद्धका बिभिन्न कार्यक्रम
बारपाक सुलीकोट गाउँपालिकामा सोमबार ‘लैंगिक हिँसा न्यूनिकरणमा पुरुषको भूमिका’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाकी उपप्रमुख सनमाया गुरुङको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा चारवटा सहकारी संस्थाका आठ जना सहभागी भएका थिए ।
प्रतियोगितामा वडा नं. ५ को जनजागरण वचत तथा ऋण सहकारी संस्था, वडा नं. ८ को आरती वचत तथा ऋण सहकारी संस्था, वडा नं. ३ को सीतागुफा वचत तथा ऋण सहकारी संस्था र वडा नं. ६ को माइकोट वचत तथा ऋण सहकारी संस्थाका दुई–दुई जना सहभागी पालिकाका रोजगार अधिकृत गीता देवकोटाले जानकारी दिइन् ।
प्रतियोगीहरुमध्य जनगारण वचत तथा ऋण सहकारी संस्थाका कुमारी पाठक प्रथम, सावित्री धिताल द्वितीय र आरती वचत तथा ऋण सहकारी संस्थाकी ज्ञानु ढकाल तृतीय भएका थिए । अरु पाँचजनालाई पनि सान्त्वना पुरस्कार प्रदान गरिएको देवकोटाले जानकारी दिइन् ।
पालिकाले शनिबार पन्द्रुङमा, आइतबार स्वाँरा र सौरपानीमा सहकारीका सदस्यहरु र निगरानी समूहहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ । मंगलबार बारपाकमा पनि कार्यक्रम गर्ने योजना रहेको देवकोटाले बताइन् ।




