
गोरखा अस्पताल बन्द हुदा बिरामी मर्कामा
दरौदी समाचारदाता
आकस्मिक बाहेकका सबै सेवा बन्द भएपछि आइतबार गोरखा अस्पताल आइपुगेका बिरामीहरु मर्कामा परेका छन् । कोभिड १९ को महामारी चलिरहेका बेला बिभिन्न खालका स्वास्थ्य समस्या लिएर अस्पताल आइपुगेका बिरामी सेवा नपाएपछि निजी मेडिकल तथा जिल्ला बाहिरका अस्पताल जान बाध्य भएका स्थानीयबासी बताउँछन् ।
‘आज(आइतबार) बिरामीहरु अस्पताल आएका थिए तर दुख गरेर आएका बिरामी उपचार नपाएपछि झन दुख मानेर फर्किए’, अस्पतालमार्गका एक व्यवासीले भने, ‘उनीहरु कि निजी मेडिकल गए, कि अरु जिल्लाको अस्पतालतिर गए ।’ अस्पतालले शनिबार राती जारी गरेको विज्ञप्ति बारे दूर दराजका बिरामी जानकार नभएको उनले तर्क गरे । ‘राती विज्ञप्ति जारी गरी बिहान अस्पतालको सेवा बन्द भएको छ । गाउँठाउँका मान्छे सबैलाई सूचनाको पहुँच कहाँ हुनसक्छ ?’ उनले भने ।
अस्पतालका स्वास्थ्यकर्मीले भने चिकित्सकमाथि हातपात गर्नेलाई नियन्त्रणमा लिएर कानूनी कारबाही नगरेसम्म इमर्जेन्सीबाहेकका सेवा बन्द गर्ने अडान कायमै राखेका छन् । अर्कातिर सुत्केरी र उनका आफन्तमाथि दुव्र्यबहार गर्ने चिकित्सकलाई कारबाही नभए आन्दोलन गर्ने चेतावनी नेपाल विद्यार्थी संघले दिएको छ ।




