| आइतवार, कार्तिक २२, २०८३

धार्चेमा क्यानोनिङ, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, फिसिङको प्याकेज सुरु


दरौदी समाचारदाता


गाउँपालिकाभित्र पर्यटनको दीगो विकास गर्ने उद्देश्यले गाउँ गाउँपालिका कार्यालयले विभिन्न पर्यटकीय इभेण्टहरु सुरु गरेको छ । शनिबार र आइतबार दुई दिवसीय कार्यक्रम गरी क्यानोनिङ, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ तथा फिसिङको प्याकेज सुरु गरेको हो ।


शनिबार एक समारोहको आयोजना गरी पर्यटनसम्बन्धी सबै प्याकेज समेटिएको ‘बूढीगण्डकी ह्वाइट वाटर अन्वेषण कार्यक्रम जिल्ला समन्वय समितिकी उपप्रमुख जनुका अधिकारी र नेपाल पर्यटन बोर्डका सदस्य अवधेश दासले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा सम्पन्न सो समारोहमा आरुघाट गाउँपालिका का प्रमुख पूणर् दाहाल, भीमसेन थापा गाउँपालिकाका प्रमुख इश्वर पाण्डे, गण्डकी गाउँपालिकाकी उपप्रमुख ललिता अधिकारी, गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेल, सिरानचोक गाउँपालिकाकी उपप्रमुख रीता देवकोटा र अजीरकोट गाउँपालिकाकी उपप्रमुख चन्द्रमाया गुरुङ सहभागी थिए ।


‘सबै इभेण्ट समेटिएको ‘बूढीगण्डकी बीच’ कार्यक्रम उद्घाटन भएको पहिलो दिन शनिबार र आइतबार दुई दिनमा ७० जनाले र्‍याफ्टिङ र २५ जनाले क्यानोनिङ गरे’, गाउँपालिकाका अध्यक्ष गुरुङले भने, ‘अब माघ १५ गते मितिनी मेलाको उपलक्ष्यमा हेलिकोप्टरबाट तल्लो मनास्लु र माथिल्लो मनास्लुको अध्ययन गर्ने, इपिसेण्टर साइक्लिङ टे्रलमा साइक्लिङ गर्नेसहितका सबै इभेण्टहरु जोडेर प्याकेज घोषणा गर्छौँ ।’ धार्चे पर्यटन प्रवद्र्धन समितिले यसको व्यवस्थापन गर्ने गरी जिम्मेवारी दिएको उनले बताए ।


समितिले लामो दुरी र्‍याफ्टिङ गर्नेका लागि तातोपानीदेखि लापुवेशीसम्म र छोटो दुरीमा र्‍याफ्टिङ गर्न चाहनेलाई माछाखोलादेखि लापुवेशीसम्मको प्याकेज खुल्ला गरिएको उनले बताए ।
सो अवसरमा बोल्दै नेपाल पर्यटन बोर्डका सदस्य तथा धार्चे पर्यटन प्रवद्र्धन समतिका प्रमुख सल्लाहकार अवधेश दासले धार्चे गाउँपालिका लाई विश्वमै पहिलो पटक आइएमटिए (इन्टरनेशनल माउण्टेन टुरिष्ट एलायन्स) को सदस्यता स्वीकृत भएको जानकारी गराएका थिए ।

सो गाउँपालिकालाई आइएमटिएको सदस्यता दिलाउन का लागि नेपाल टुरिज्म बोर्डले सदस्यता शुल्क बापतको तीनहजार डलर रकम र बर्षेनी नवीकरण गर्ने तीनबर्षको रकम मिनाहा गराएको बताएका थिए ।
आइएमटिएमा विश्वका ६० मुलुकहरु आवद्ध छन् । तर गाउँपालिका आवद्ध भएको विश्वमै पहिलो अभ्यास भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्