| बिहिबार, साउन १३, २०८३

परिबार नै कोरोनाको दलदलमा फँस्दाको त्यो बिभत्स सम्झना (संस्मरण)


मनिता थापा :

मनिता थापा


पारिवारिक जमघट पातलो भएता पनि हामीले यसपालिको दशैँ परिवारभित्र रमाइलोसँग मनाएका थियौँ । मेरो कार्यक्षेत्र गोरखा भएकाले दशैँ मनाएपछि कार्तिक १३ गते नै गोरखा फर्केर कार्यालयलको दिनचर्या सुरु गरिसकेको थिएँ ।
कार्तिक १५ गते मेरो श्रीमानले फोन गरेर सीमा (मेरो नन्द) को घरमा सीमा बाहेक सबै कोरोना पोजेटिभ हुनुभएको खबर सुनाउनु भयो । सोही दिन बेलुकी मैले नन्दलाई फोन गरेर उहाँहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएँ । सबैजना ठीकै रहनुभएको उहाँबाट जानकारी पाएँ ।
कार्तिक १६, गोरखा,
दशै अगाडि बाट ड्राइभिङ्ग सिकिरहेको र पूर्णिमाको भोलिपल्टबाट निरन्तरता दिनुपर्ने भएकाले म ड्राइभिङ्ग सेन्टर गएँ । ट्रायलमा गाडी घुमाइरहेका बेला मेरो व्यक्तिगत फोनको रिङटोन बजिरह्यो । कार्यालयको कामका लागि होइन केही छिनमा रिसिभ गरौँला भनी बेवास्ता गरेँ । फेरि भर्खरै एउटा पुस्तक प्रकाशन गरेकाले त्यससँग सम्बन्धित फोन बढी नै आइरहेकाले पछि कलब्याक गर्छु भन्ने ठानी मोबाइल हेरिन ।
त्यहाँबाट कार्यालय फर्किने क्रममा फोन चेक गर्दा श्रीमानको धेरैवटा कल मिस्ड भएको रहेछ । तुरुन्त कलब्याक गरेँ तर उठेन । त्यसपश्चात मैले अरु कलहरुको रेश्पोन्स गरेँ अनि फेरि श्रीमानलाई कल गरे । फोन उठाएर उहाँले मामाघरमा मामालाई कोरोना पोजेटिभ देखियो रे अनि हामी (ममी, ड्याडी, श्रीमान र छोरा) पनि स्वाब दिनका लागि मेडिसिटी जान लागेको तिमी पनि टेष्ट गराउ भन्नुभयो ।
मैले पनि गोरखामा त्यो दिन कहाँ स्वाब संकलन भैरहेको छ भनेर खोजी गरेँ । स्वाब संकलनका लागि १ बजे बोलाइयो । फेरि एकछिनमा श्रीमानकै फोनमार्फत मामालाई गाह्रो भयो रे टिचिङ्ग र ह्याम्समा कुरा भइरहेको र केएमसीमा पनि एकपटक कुरा गरेर खबर गर भन्नुभयो । केएमसीमा मेरो ठुलोबुवाको छोरी (दिदी)ले काम गर्ने भएकाले उहाँलाई सम्पर्क गर्न खोजेँ । तर उहाँले त्यो दिन फोन घरमै छोडेर जानुभएको रहेछ । भिनाजुलाई फोन गरेर हस्पिटलका कसैलाई फोन गरेर मलाई सम्पर्क गर्न लगाइदिनु भनेँ ।
फेरि धैर्य गर्न सकिन र केएमसी को ल्याण्डलाइनमा डायल गरेर इ.सि.जी. डिपार्टमा एक्सटेण्ड गराइदिन अनुरोध गरेँ । त्यहाँ फोन उठ्यो तर दिदी एकछिन अर्को वार्डमा जानुभएको खबर गर्नुभयो । मैले मेरो नम्बर दिएर उहाँ आएपछि सम्पर्क गर्न भनिदिनु भने । केही छिनपछि दिदीको फोन आयो । एकजना कोरोना सक्रमित बिरामी लिएर आउनुपर्ने भयो भनी जानकारी गराएँ । उहाँले इमर्जेन्सीमा लिएर आउन भन्नुभयो । मैले श्रीमानलाई सोहीअनुसार जानकारी गराएँ । उहाँले आफू स्वाब दिएर मामाघर (बुद्दनगर) पुग्दा ढिला हुने भएकाले एम्बुलेन्सको व्यवस्था गर्न आग्रह गर्नुभयो । माइजु आत्तिरहनुभएकाले यथासीघ्र खबर गर्न भन्नुभयो ।
दिदीलाइ कुरा गर्न उहाँको फोन नम्बर थिएन । अनि केएमसीको इमरजेन्सी वार्डमा एम्बुलेन्सको लागि कुरा गरेँ । केएमसीले ‘बाहिर टेष्ट गराएको कोभिड बिरामीलाई एम्बुलेन्स सेवा दिँदैनौँ । आँफै लिएर आउनुहोला’ भन्यो । त्यसपश्चात मैलेएम्बुलेन्स सेवा ‘१०२’ मा कल गरेर कोभिड बिरामीलाई बुद्दनगरबाट सिनामंगलसम्म लैजानुपर्ने भनेँ । बिरामीको नाम सोध्नुभयो, मैले ‘रमेश कोइराला’ भनेँ । उताबाट ‘ए उहाँको त पल्स रेट र हर्टबीट नै नभएर हामी फर्किएर आएको’ भन्नुभयो । त्यतिन्जेल मेडिसिटिमा स्वाब संकलन गराएर ममी र बाबु (छोरा) लाइ भैसीपाटी (घर) छोडेर ड्याडी र श्रीमान बुद्दनगर लाग्दै गर्दा मामाको खबर श्रीमानलाइ सुनाएँ ।
यति भइरहँदा समय पनि बितिरहेको थियो । मनमनै सोही दिन घर जाने योजना तय गरी कार्यालय गएँ । ‘तपाइँ स्वाब दिन आउनुभएन नि’ भनेर २ बजे मलाइ फोन आयो । मैले ‘मलाइ इमरजेन्सी कामले काठमाडौँ जानुपर्ने भयो, उतै टेष्ट गराउँछु’ भनेँ । कार्यालयको काम दिउँसो ३ बजेसम्म गरी घरतर्फ लागेँ ।
कार्तिक १६, बुद्दनगर,
मामालाई दसैँबाट नै अलिअलि ज्वरो र रुघाखोकी लागेको रहेछ । १४ गतेबाट अलि गाह्रो भएपछि १५ गते स्वाब दिनुभएछ । १५ गते बेलुका आउनुपर्ने रिपोर्ट रातिसम्म आएनछ । उहाँलाई आफ्नो अस्वस्थता भन्दा पनि रिपोर्टको बढी चिन्ता लागिरहेको रहेछ । राति अबेरसम्म पनि फोनमा रिपोर्ट आएर नआएको चेक गरिरहनु भएछ । १६ गते बिहान सिटी भ्यालु २२ सहितको कोरोना पोजेटिभ रिपोर्ट आएछ ।
रिपोर्ट पोजेटिभ भन्ने बित्तिकै उहाँ आत्तिनुभएछ, व्हीलचेयर र खाटमात्र आफ्नो संसार बनाइरहनु भएकी ८३ वर्षीय बुढीआमालाई हेर्नुभयो । सुन्दर भविष्यको लागि लम्किरहेका पाइलाहरु, कक्षा १२ र कक्षा ९ मा अध्ययनरत दुईजना छोरीहरुलाइ हेर्नुभयो अनि यही सानो संसारको सपनालाई साकार तुल्याउन साथ दिने श्रीमतीलाइ पनि हेर्नुभएछ । त्यसपछि एक्कासी गार्हो भयो भन्नुभएछ ।
मामाको असाध्यै मिल्ने नजिकैको साथीलाई माइजुले खवर गर्नुभएछ । उहाँले २०÷२५ मिनेटमा एम्बुलेन्स आउँछ तयारी भएर बस्नु भन्नुभएछ । माइजुले सुप बनाएर दिनुभएछ मामालाई अनि अस्पताल जानका लागि तयारी गर्नुभएछ । यतिकैमा एम्बुलेन्सको आवाज आएछ । मामाले आत्तिएर ‘एम्बुलेन्स, एम्बुलेन्स’ भन्नुभएछ । झ्यालबाट बाहिर हेर्दा एम्बुलेन्स देखिएछ र त्यहाँबाट एम्बुलेन्स घुमाउन नमिल्ने भएकाले अलि अगाडि गएछ । त्यसपछि मामाले पानी खान्छु भन्नुभएछ । आधा गिलास पानी खाएपछि एकछिन टाउको निउराएर रोकिनुभएछ । त्यसपछि फेरि एक घुड्की पानी खानुभएछ । तर त्यो घुड्कीभित्र नगई सर्को परे जसरी बाहिर निस्केछ । अनि मामा ढल्नुभएछ । माइजु र दुईजना नानीहरुले मामाको त्यत्रो ठूलो शरीरलाई सम्हालेर विस्तारामा सुताउनुभएछ । एम्बुलेन्समा आउनुभएकी स्वास्थ्यकर्मी भित्र आएर पल्स रेट हेर्दा मामाले संसार छोडिसक्नुभएछ ।
‘यही नै सत्य हो । तपाईहरुले स्वीकार्नु पर्दछ’ भनेर उहाँ एम्बुलेन्स लिएर फिर्ता जानुभएछ ।
यी सबै घटनाक्रमका दृश्यहरु सम्बन्धमा ८३ वर्षीय हजुरआमा (मामाको आमा) अर्को कोठामा अनभिज्ञ भएर बस्नुभएको छ । न उहाँ उठेर एकठाउँबाट अर्को ठाउँ जान सक्नुहुन्छ, न कान सुन्न सक्नुहुन्छ । आँसु र पीडालाई मामाको लडिरहेको शरीर भएको कोठामा सीमित राखेर माइजुले भान्जा (मेरो श्रीमान) र भान्जी (मेरी नन्द) लगायत अन्य नजिकका आफन्तहरुलाई फोन गरेर ‘मामा निलो भइसक्नुभयो । एम्बुलेन्सले लैजान मानेन छिटो गाडी लिएर आउनु न’ भन्नुभएछ ।
मेडिसिटीमा रहेका मेरा श्रीमान र आफ्नै घर(बागडोल) मा रहनुभएकी नन्द केहीबेरमा त्यहाँ पुग्नुभयो तर त्यहाँ सुरक्षाकर्मीहरुले सेतो घेरा लगाइसकेको रहेछ । उहाँहरुलाई भित्र जान दिइएन । मेरो मामा हो उहाँ म अस्पताल लैजान्छु भनेर जिद्दी गर्नुभएछ तर तपाइले पीपीई लगाउनु भएको छैन, तपाइले अस्पताल लैजान मिल्दैन भनिएछ ।
केही समयमा आफन्तभित्रकै एकजना डाक्टरसाप आइपुग्नुभएछ र उहाँले भित्र गएर मामाको अवस्था जाँच गरी ‘ही इज नो मोर’ भन्नुभएछ ।
यो विश्वास गर्न सकिने अवस्था थिएन किनकी उहाँलाई न कुनै दीर्घरोग थियो न उमेर धेरै । अनि कुनै प्रकारको औषधीको सेवन पनि गर्नुभएको थिएन । त्यहाँ वरपरका जम्मा भएका मानिसले पनि हजुरआमा बुढी भएकाले उहाँलाइ केही भएछ भन्ने सोचेका रहेछन् ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको लिष्टमा उहाँको नाम चढिसकेको थियो । सामान्य अवस्था वा अन्य रोगका कारण भएको मृत्यु थियो भने सबैजना जम्मा भएर समबेदना र साहारा दिने अवस्था हुन्थ्यो तर यहाँ त्यो अवस्था रहेन । मामालाई अस्पताल लैजान पुगेका भान्जाभान्जी शव व्यवस्थापन तर्फ लाग्नुप¥यो । माइजु र नानीहरुलाई हजुरआमा भएकै कोठामा लगेर राखियो जसका कारण उहाँहरु डाँको छोडेर रुन र दुख बिसाउन पाउनुभएन किनकी हजुरआमालाई यो अवस्थाबारे जानकारी गराउन कसैले आँट गर्ने अवस्था थिएन त्यो । वडाबाट सिफारिस बनाउने, मुचुल्का उठाउने, शब व्यवस्थापनका लागि पीपीई लगायतका सामग्री जुटाउने कार्य गरेपछि लैजानका लागि नेपाल आर्मीलाई खबर गरिएछ ।
त्यही दिन १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएकाले आउनका लागि केही समय लाग्ने जानकारी आएछ । चार बजेपछि शव लिनको लागि नेपाल आर्मीको टोली आएछ त्यसपश्चात मेरो श्रीमान र डाक्टरसापले पिपिई लगाएर लास ¥याप गर्ने तथा बाहिर निकाल्ने र गाडीमा हालेर पठाउनुभएछ ।
त्यसबेलासम्म त्यहाँ कसैले पानी समेत खाएको थिएन । व्हील चेयरमा दिनभर बस्नुभएको हजुरआमाले बसेकै ठाउँमा कतिपटक दिसापिसाब गर्नुभयो कसैलाई पत्तै भएन । हजुरआमा, माइजु तथा नानीहरुको समेत कोरोना परीक्षणको लागि स्वाब पठाउने व्यवस्था भयो । भैँसेपाटी घरमा ममी र बाबुलाई मात्र छोडेर गएको तथा बिहान मेडिसिटीमा टेष्ट गराएको रिपोर्टमा ममीको कोरोना पोजेटिभ र अरुको नेगेटिभ भन्ने जानकारी श्रीमानलाई प्राप्त भइसकेको थियो । नन्दले त्यहाँ सबैलाई खानपानको व्यवस्था गरेर बेलुकी आ–आफ्नो घरतर्फ लाग्नुभयो ।

कार्तिक १६, भैसेपाटी,
दसैँको टिकाको दिन घरमा टिका लगाइसकेपछि मामाघर (बुद्दनगर) टिका लगाउन जानुभएको ममी त्यो दिन त्यतै बस्ने सल्लाह भएको थियो र सोहीअनुसार बसेर भोलिपल्ट घर फर्कनु भयो । १४ गते हल्का ज्वरो आउने तथा ढाड दुखेको सुनाउनुभयो । म गोर्खा बस्ने भएकाले बाबु (४ वर्षको छोरा) राति उसको बाबासँग सुते पनि दिउँसो ममीसँगै सुत्ने, खाने, बस्ने गर्थ्यो । १६ गते मामाको पोजेटिभ रिपोर्ट आएको खबर तथा ममीको समेत केही लक्षण देखिएकाले सबैजना परीक्षणको लागि जानुभयो । मामाघरको खबरले ममी र बाबुलाई घरमा छोडेर ड्याडी र श्रीमान त्यसतर्फ जानुभयो । मुटु साह्रै कमजोर रहनुभएकी, प्रेसरको औषधी सेवन गरिरहनुभएकी तथा व्यवहारिक कठिनाइहरु खासै धेरै सामना नगरीकन जिइरहनुभएकी ममीलाई भाइलाई सन्चो नभएको खबर तथा आफ्नो समेत स्वाब दिएकाले दिनभर छट्पटाउने अवस्था सिर्जना भयो ।
कहिले छोरालाई, कहिले छोरीलाई तथा कहिले माइजुलाई फोन गरेर मामाको अवस्था सोधिरहनुभएको थियो । तर सबैबाट ठीकै छ आत्तिनु पर्दैन हस्पिटल लादैँछौँ, पु¥यायौँ, चेकअप हुँदैछ जस्ता खबर प्राप्त भइरहे । म गोरखाबाट घर पुग्दा ममीलाई आइसोलेशन कोठाको व्यवस्थापन गरी राखिसकिएको रहेछ । श्रीमान पनि दिउँसो संक्रमितको शव व्यवस्थापन मै खटिनु भएकाले केही दूरी कायम गरियो ।मामाघरमा घटेको घटनाको बारेमा ममीलाई जानकारी गराइएन ।हजुरबुवाको पनि छिटै देहावसान भएकाले हजुरआमाको काखमा ममी र मामा मात्र हनुहुन्थ्यो । कोरोना पोजेटिभ भएर एक्लै बसेको अवस्था तथा आत्मबल कमजोर भएको बेलामा यस्तो समाचारले झन् गार्हो हुने भएकाले रिपोर्ट नेगेटिभ भएर बाहिर निस्किएपछि मात्र खबर गर्ने सल्लाह भयो । ममीले प्रयोग गर्ने सामानहरु तथा वासरुम पनि छुट्टै गरियो ।
कार्तिक १७ गते
आइशोलेशनमा बस्नुभएकी ममीको रेखदेख गर्नु र उहाँको हौसला बढाउनु हाम्रो प्राथमिकता थियो । सोहीअनुसार हामी श्रीमानश्रीमती लागि परेका थियौँ । मामाघरमा अघिल्लो दिन दिएको नमुनाको पीसीआर रिपोर्ट दश बजेतिर आइसकेको थियो । जसमा माइजु र दुई जना नानीहरुको पोजेटिभ थियो भने हजुरआमाको मात्र नेगेटिभ । हजुरआमालाई संक्रमण हुनबाट जोगाउन भैसेँपाटीमा ल्याएर राख्ने सल्लाह बमोजिम श्रीमान र नन्द गएर लिएर आउनुभयो ।
नन्दको घर (बागडोल)
नन्दको ससुराबुवाको नियमित चेकअपका लागि गएको बेला कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएकाले कार्तिक १५ गते सबै परिवारका सदस्यहरुको परीक्षण गराउँदा ६ जना सदस्यहहरुको रिपोर्ट पोजेटिभ आएको थियो भने नन्दको रिपोर्ट नेगेटिभ रहेको थियो । सबै संक्रमितको रेखदेख गर्नका लागि नन्द जुटिनुभएको थियो । उहाँहरु सबैजनाको लक्षण सामान्य अवस्थाको रहेको थियो । मामाघरमा कार्तिक १६ गते घटेको घटनाको केही दिनपछि नन्दलाई समेत ज्वरो तथा कमजोरीपनको लक्षण देखाप¥यो । कार्तिक २२ गते नमुना दिई परीक्षण गराउँदा उहाँको पनि रिपोर्ट पोजेटिभ आयो ।
खानामा अरुचि, बाथरुम समेत जान नसक्ने गरी कमजोरीको अवस्था, खोकी लगायतका लक्षणले ८ ÷ १० दिन सम्म थला पर्नुभयो । त्यसपश्चात बिस्तारै रिकभरी फेजतर्फ जानुभयो ।
त्यसपश्चात
एकपछि अर्को गर्दै हाम्रो परिवारमा कोरोनाको संक्रमित संख्या बढिरहेको थियो । २२ गते नन्दको पोजेटिभ रिपोर्ट आएको जानकारी आएपछि मेरो श्रीमान पनि सशंकित हुनुभयो । कार्तिक २३ गते बिहान नमुना दिएर आउनुभयो र त्यही दिन बेलुका सीटी भ्यालु २४ सहित कोरोना पोजेटिभ भएको रिपोर्ट प्राप्त भयो ।
मामाघरमा भएको घटना प्रत्यक्ष देखेर आउनुभएको तथा परिवारमा एकपछि अर्को संक्रमण बढेकाले उहाँ आत्तिरहनु भएको थियो । नआत्तिन र कोरोनालाई सजिलै परास्त पार्नका लागि मैले आँट र भरोसा दिने कोसिस गरेँ । कार्तिक १६ गतेबाट छुट्टै कोठामा बसिरहनुभएको भएता पनि थप सजगता अपनाएर आइशोलेशनमा बस्ने व्यवस्था गरियो ।
आफू संक्रमण नहुँदासम्म ममी, बहिनी तथा माइजुहरुलाई समेत पालोपालो फोन गरेर अवस्था बुझ्ने तथा हौसला प्रदान गरिरहनुभएको थियो । अब म पनि कताकता आत्तिन थालिसकेको थिएँ । बिरामीको के हुने हो र कसो हुने हो भन्ने चिन्ता भइरहन्थ्यो । संक्रमण भएको पुष्टि भएकै दिन बेलुकीपख श्रीमानको ब्लड(प्रेसर र पल्स रेट अलि बढेको जानकारी गराउनुभयो । डाक्टरको सल्लाह बमोजिम लगातार बढिरहेमा सेवन गर्नुपर्ने औषधी तयारी अवस्थामा राखियो । म अर्को कोठामा सुतेको भएतापनि त्यो रात उहाँ रातभर नसुतेको महशुस गरेँ । प्रत्येक घण्टामा प्रेसर मापन गरेकाले च्वारच्वार आवाज मेरो कानमा परिरहन्थ्यो ।
उहाँले त्यो रातभर प्रेसर, ज्वरो, स्याचुरेशन अक्सिजन प्रतिशत तथा पल्स रेट मापन गरेर बिताउनुभयो । भोलिपल्ट अर्थात २४ गते मेरो र छोराको नमुना परीक्षण गर्न पठाइयो । ममी र श्रीमान बिल्कुल फरक किसिमका लक्षणबाट ग्रसित हुनुहुन्थ्यो । ममीलाई कमजोरीपन, ढाडदुख्ने तथा ज्वरोको लक्षण थियो भने श्रीमानलाई ज्वरोको साथसाथै बढी खोकी लाग्ने तथा लामो श्वास लिँदा छातीमा शिल्का हान्ने गरेको थियो । परिवार नै सबैभन्दा ठूलो धन हो त्यसैले मैलै सँक्रमित सदस्यको खानपानमा विशेष ध्यान दिएको थिएँ । हजुरआमाको रेखदेख, ४ वर्षीय छोराको रेखदेख तथा सँक्रमितको रेखदेख नै यतिबेला मेरो धर्म थियो । बेलुका मेरो र छोराको रिपोर्ट नेगेटिभ आयो । श्रीमानको ब्लड(प्रेसरर पल्स रेट पनि सामान्य अवस्थामा आएकाले मैले केही राहत महशूस गरेँ ।
लक्षण बमोजिम तथा डाक्टरको सल्लाह अनुसारको औषधीका अलवा भिटामिन सप्लिमेन्टसहरुको सेवन सँक्रमितले गरिरहनुभएको थियो । हामी यहाँ दिन विताइरहेका थिएनौ, मिनेट तथा सेकेण्डमा चलिरहेका थियौँ । कहिले ९÷१० दिन कट्छ र जोखिममुक्त भइन्छ मात्र भइरहन्थ्यो । रातमा निद्रा राम्रोसँग नलाग्ने कतै केही भइहाल्यो कि जस्तो हुने , संक्रमितलाई राति त छिनछिनमा फोन गर्न नि डिस्टर्ब होला, सुतिरहैको भए निद्रा बिग्रेला जस्तो हुन्थ्यो । बिहान सबेरै पानी ल्याइदिने हो भन्ने बाहाना बनाएर कल गरेर हालखबर सोध्ने गर्थे । श्रीमानले डाक्टरहरुसँग परामर्श पनि धेरै नै लिनुभयो । उहाँको खोकीको लक्षणको सन्दर्भमा औषधी नै कति थरीको प्रयोग गरियो ।
मैले संक्रमितको खानपानमा विशेष ध्यान दिएको थिएँ । त्यसैगरी दैनिक २ पटक बाफ लिने, तातोपानी प्रशस्त पिउने, खानामा बढी झोलिलो पदार्थ तथा अण्डा, माछामासु, गेडागुडी र दुध सेवनलाई जोड गराएँ । अदुवा, मरीच, कागती र मह तातो पानीमा मिसाएर दिनको एकपटक, त्यसैगरी बेसार, मरिच तथा पानी उमालेर एकपटक, गुर्जो, मरिच, बेसार, जिरा, टिमुर, नुन, अदुवा आदिलाई पानीमा उमालेर एकपटक दिने गरेँ । सबै प्रकारका फलफूलाइ मिसाएर स्मुथि एकपटक, त्यसैगरी हरियो तरकारिका परिकारहरुमा विशेष जोड दिएको थिए ।
कार्तिक २९ गते ममीको स्वाब परीक्षणको लागि दिइयो । बेलुकी उहाँको रिपोर्ट नेगेटिभ आयो । केही ढुक्क महशुस भयो । २९ गते बेलुकीबाट मलाई रुघा लाग्ने तथा थकाइको महशुस भयो । कोरोना संक्रमण भयो कि भन्ने शंका लागगिरह्यो । ३० गते बिहान स्वाब संकलनका लागि गएँ । ३० गते बिहान नै मामाघरमा माइजु तथा नानीहरुको रिपोर्ट नेगेटिभ आइसकेको थियो । मामा बित्नुभएको १३ दिनको काम पनि सकिसकेको थियो । त्यसैदिन उहाँहरु हाम्रो घरमा आउनुभयो । बेलुकी मेरो रिपोर्ट सिटी भ्यालु १४ सहित पोजेटिभ भएको जानकारी आयो ।
म पनि आइशोलेशनमा बस्न सुरु गरेँ । त्यसै दिन दिउँसोबाट छोराको आँखा रसिलो भइरहेको थियो । उसले खाना पनि खान मानेको थिएन । म आइशोलेशन बसेको केहीबेरमै छोराको ज्वरो १०२ डिग्री मापन भएछ । हामी श्रीमान श्रीमती आइशोलेसनमा थियौँ । असाध्यै धेरै तनाब भयो । श्रीमानले डाक्टरसँग परामर्श लिनुभयो र सोहीअनुसार औषधी खुवाइयो ।
बेलुकी उसले अलिकति खाना र दुध खाएको थियो । खाएको केही बेरमै भमिट भएको आवाज सुनियो । सहनै नसकेर म बाबु भएको कोठाको ढोकासम्म गएर हेरेँ । उसले ‘ममी मलाई भमीट भयो’ भनेर रोइरहेको थियो । अघिल्लो दिनसम्म मसँग सुतिरहेको छोरो म बाट छुटेको थियो । त्यो पनि बिरामी भएको अवस्थामा । रातभर निद्रा परेन । ममी र माइजुले राति समेत औषधी खुवाउनका लागि अलार्म राखेर सुत्नुभयो । राति २ बजे ज्वरो १०० डिग्री मा झरेछ । भोलिपल्ट उसलाई अलि ठीक भयो अनि हामी केही ढुक्क भयौँ । श्रीमानको पनि संक्रमण भएको ७÷८ दिन भएको थियो । खोकीको समस्या अलि कम हुँदै गएको थियो । घर परिवारका सदस्यहरु ठीक हुँदै गएपछि आफ्नो पनि आत्मबल बढ्यो । सुरुको केही दिन असाध्यै कमजोरीपन महशुस भयो ।
केही कुराको बास्ना र गन्ध थाह नहुने भयो । सहन नसकिने गरी ढाड दुख्यो । ज्वरो कति पनि आएन मलाई । दैनिक ४ घण्टा घाममा बसेँ । भिटामिन सप्लिमेन्टस्हरु सेवन गरेँ । दैनिक २ पटक बाफ लिएँ । केही व्यायम गरेँ । खानेकुराहरु पेलेँ । विभिन्न संचारमाध्यम तथा सामाजिक संजालहरुमा देखिने र सुनिने तथा आफूले चिनेका कोरोना संक्रमितलाई गार्हो भएको वा मृत्युको खबरहरु आउँदा बेलाबेलामा असाध्यै डर लाग्ने, मुटु भारी हुने जस्तो हुन्थ्यो ।
त्यसबाट आफ्नो ध्यान अन्त केन्द्रीत गराउने प्रयास गर्थे । यो अवधिमा मैले शरीरलाई बढी भन्दा बढी आराम दिने तथा कुनै पनि कुराको तनाबबाट मुक्त राख्ने प्रयास गरेँ । करीब १६÷१७ दिनको मेरो आइशोलेशन बसाइपछि हाम्रो घरबाट कोरोना भाइरसलाई अहिलेलाई बिदा गर्यौँ । फेरि पनि लाग्न सक्ने भएकाले अझ बढी सचेत हुनेछौँ । सामान्य लक्षण देखि मृत्यु समेतका घटना हाम्रो परिवारले देखेर वा भोगेर बाहिर निस्किएका छौँ । ‘हामीलाई त केही हुन्न’ वा ‘छिटो छिटो लागेर सन्चो भए नि हुन्थ्यो कति डराएर बस्ने’ भन्ने खालको मानसिकता मेरो अनि मेरो परिवारको पनि थियो तर यसको संक्रमण भएपछि म त ठीक भएँ तर हाम्रो परिवारको सदस्यलाई यसले खोसेर लग्यो ।
त्यसैले यो रोगलाई सामान्य रुपमा नलियौँ, बढी भन्दा बढी सजग बनौँ, आफू पनि बाँचौ र अरुलाई पनि बचाऔँ ।

प्रतिक्रिया दिनुहोस्