| आइतवार, कार्तिक २२, २०८३

गोरखा अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित, इमर्जेन्सीबाहेक सबैसेवा बन्द

कार्यस्थलमा चिकित्सकमाथि हातपात भएको भन्दै गोरखा अस्पतालका सबै स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । शनिबार साँझ विज्ञप्ति जारी गर्दै अस्पतालका आन्दोलनरत स्वास्थ्यकर्मीहरुले अस्पतालको इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको जनाएका छन् ।
सामान्य विवाद समाधानको प्रयास हुँदाहुँदै चिकित्सकमाथि हातपात हुनु दुखद भएको भन्दै विज्ञप्तिमा हातपात र दुव्र्यबहार गर्नेमाथि कारबाही नभएसम्म काममा नफर्कने विज्ञप्तिमा जनाइएको छ ।
‘अस्पतालभित्रै कार्यस्थलमा हामीमाथि हातपात र दुव्र्यबहार हुनुले हाम्रो सुरक्षाको चुनौति थपिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ चिकित्सकमाथि हातपात तथा दुव्र्यवहार गर्नेलाई कानूनी दायरामा ल्याएर दोषी उपर अबिलम्ब कानूनी कारबाही गर्न माग गर्दछौँ । साथै दोषीउपर कारबाही नभएसम्म हामी सबै स्वास्थ्यकर्मीहरु आकस्मिक सेवाबाहेक कुनैपनि काममा नफर्कने जानकारी गराउँदछौँ ।’
शनिबार गोरखा नगरपालिका ३ नारेश्वरकी एक सुत्केरी अस्पतालको सौचालय जाँदा लडेको र आफन्तलाई सुत्केरी भेट्न नदिएको बिषयमा विवाद भएको थियो ।
सोही बिषयमा नेविसंघले विज्ञप्ति जारी गरी बिरामी र बिरामीका आफन्तमाथि भएको दुव्र्यबहारप्रति खेद व्यक्त गरेको छ । नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारीद्वारा जारी विज्ञप्तिमा दुव्र्यबहार गर्ने डाक्टर सन्दीप श्रेष्ठप्रति कडा कारबाहीको माग गरेको छ । साथै कारबाही नगर्ने कडा आन्दोलन गर्ने र त्यसको जिम्मेवारी अस्पताल प्रशासनले लिनुपर्ने संघका अध्यक्ष सुवास अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्