| शुक्रबार, मंसिर १९, २०८२

पर्यटन ब्यवशायी खत्रीद्वारा स्वास्थ्य चौकीका लागि करिब पाँच लाख सहयोग

पर्यटन ब्यवशायी प्रेम खत्रीले गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ को बुङ्कोट स्वास्थ्य चौकीका लागि चार लाख ८५ हजार छ सय ६५ रुपैयाँ सहयोग गरेका छन् ।

उक्त स्वास्थ्य चौकीबाट स्तरीय सेवा प्रदान गर्ने उद्देश्यले ल्याबको सामग्री खरिदका लागि खत्रीले उक्त सहयोग गरेका हुन् ।
ग्रामीण भेगको स्वास्थ्य चौकीबाट सर्वसाधारणले सहज सेवा पाउन् भन्ने उद्देश्यले आफुले सहयोग गरेको उनले बताए ।
दाताहरुको सहयोगले खरिद गरिएको स्वास्थ्य सामग्री बिहिवार एक कार्यक्रमका बीच स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।

स्वास्थ्य चौकी ब्यवस्थापन समिति अध्यक्ष एवं वडाध्यक्ष श्रेष्ठको पहलमा देश तथा बिदेशमा बस्ने स्थानीयले पनि सहयोग गरेका छन् । सोही गाउँपालिका ६ का किरण श्रेष्ठले १० हजार, गोपालबाबु श्रेष्ठले ११ हजार, वडा नम्बर ७ का निरोज थापाले ६० हजार, नबराज श्रेष्ठले १० हजार, पूर्ण श्रेष्ठले ११ हजार, बिष्णु थापाले १० हजार, वडा नम्बर ८ का अर्जुन भण्डारी ११ हजार, राजनबाबु श्रेष्ठ १० हजार र उत्तर कुमार श्रेष्ठले पाँच हजार सहयोग गरेका छन् ।


सहयोग रकमबाट ल्याब र स्वास्थ्य चौकीका लागि आवश्यक उपकरण खरिद गरी हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आले मगर, वडा नम्बर ८ का अध्यक्ष काशिनाथ अम्गाई, दाता सम्भव नेपालका अध्यक्ष पर्यटन ब्यवशायी प्रेम खत्री, गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठ, बुङ्कोट स्वास्थ्य चौकी प्रमुख बिमला पुलामी लगायतले धारणा राखेका थिए ।


पर्यटन ब्यवशायी खत्रीले यस अघि पनि गोरखाका बिभिन्न पालिकाका विद्यालयमा छात्रवृत्ति, पोशाक सहयोग गरेका छन् । स्थानीय तहलाई एम्बुलेन्स, कोभिडको त्रासका समयमा थर्मल गन, मास्क, सेनिटाईजर लगायतका सामग्री पनि सहयोग गरेका थिए । आरुघाट गाउँपालिकाको मान्बुमा विद्यालयका लागि छात्राबास निर्माण, आरुपोखरीको भैरवी प्राविको भौतिक संरचना निर्माण, कम्प्यूटर ल्याब निर्माणमा पनि उनले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्